काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव ले नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउँदै सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राखेको बताएका छन्।
११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन लाई सम्बोधन गर्दै मन्त्री यादवले बदलिँदो श्रम बजार र डिजिटल अर्थतन्त्रका चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे। उनले डिजिटल तथा गिग अर्थतन्त्रमा कार्यरत श्रमिकहरूको हकहित संरक्षणका लागि स्पष्ट श्रम सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता तथा डेटा गोपनीयताको व्यवस्था आवश्यक रहेको बताए।
मन्त्री यादवले श्रमिकमैत्री नीति तथा कार्यक्रममार्फत स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, श्रम बजारलाई व्यवस्थित बनाउने र वैदेशिक रोजगारीलाई थप सुरक्षित तथा मर्यादित बनाउने दिशामा सरकार केन्द्रित रहेको जानकारी दिए।
उनका अनुसार नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माणको प्रक्रिया अघि बढाएको छ। साथै, जबरजस्ती श्रमसम्बन्धी अन्तर्राष्ट्रिय प्रोटोकल अनुमोदनका लागि संसद्मा प्रस्ताव पेश भइसकेको जानकारी पनि उनले दिए।
मन्त्री यादवले श्रम क्षेत्रको रूपान्तरण, सामाजिक न्याय र श्रमिक अधिकारको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालले श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयनमा आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने बताए।
उनले आन्तरिक रोजगारी प्रवर्द्धन, श्रमिकको सामाजिक सुरक्षा र सुरक्षित आप्रवासनलाई आगामी वर्षहरूमा सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने स्पष्ट पारे।