२०८३ भाद्र २७ शनिबार

मेटलाइफ र खल्ती सुरक्षाद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बिमा योजना सार्वजनिक

ई आर्थिक    बुधबार, बैशाख ३० २०८३
2.1K
Shares
मेटलाइफ र खल्ती सुरक्षाद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बिमा योजना सार्वजनिक

काठमाडौँ : मेटलाइफ नेपाल र खल्तीअन्तर्गतको खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बिमा योजना सार्वजनिक गरेका छन् ।अब यो योजना खल्ती एपमार्फत सहज रूपमा खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै बिमा सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस योजनाले कागजी प्रक्रिया कम गर्दै डिजिटल माध्यमबाट छिटो, सरल र सहज बिमा सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

‘सुरक्षा ३६०’ योजनाअन्तर्गत जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बिमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ । एउटै योजनाभित्र विभिन्न प्रकारका सुरक्षण समेटिएकाले ग्राहकले छुट्टाछुट्टै बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झट नहुने कम्पनीको भनाइ छ ।

यो योजना सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन प्याकेजमा उपलब्ध रहेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन् । योजनाअन्तर्गत रु. २३ लाखदेखि रु. ४६ लाखसम्मको बिमा सुरक्षण उपलब्ध हुनेछ ।

वार्षिक बिमाशुल्क प्याकेजअनुसार रु. ३,८१० बाट सुरु हुने बताइएको छ । १८ देखि ५० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरिएको यो योजना समग्र बीमा सुरक्षणलाई अझ पहुँचयोग्य र किफायती बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले ‘सुरक्षा ३६०’ले जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षण प्रदान गर्ने बताउँदै डिजिटल प्लेटफर्ममार्फत अझ धेरै नेपालीलाई वित्तीय सुरक्षातर्फ आकर्षित गर्ने उद्देश्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij