कैलाली । एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी र पम्प सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प प्रदान गरिएको बैंकले जनाएको छ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका सर्कल हेड (धनगढी) दीपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
बैंकका अनुसार उपलब्ध गराइएको फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले विद्यालयमा स्वच्छ खानेपानी पहुँच सुनिश्चित गर्नुका साथै विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।