२०८३ भाद्र २७ शनिबार

एक वर्षमै सुन तोलामा सवा लाखले महँगियो, कारोबार भने सुस्त

ई आर्थिक    बुधबार, बैशाख २ २०८३
3.9K
Shares
एक वर्षमै सुन तोलामा सवा लाखले महँगियो, कारोबार भने सुस्त

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८२ वैशाख १ मा प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य बढेर मंगलबार दुई लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ। यस अवधिमा सुनको मूल्य तोलामा एक लाख १५ हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्नु, भूराजनीतिक तनाव, विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनु, अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर घटाइनु तथा सेयर बजारमा गिरावट आउनुले सुनको मूल्य उकालो लागेको बताइएको छ। पछिल्लो समय पश्चिम एसियामा देखिएको द्वन्द्वले केही समय मूल्य घटाए पनि पुनः बढ्दो क्रममा रहेको छ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार भूराजनीतिक अस्थिरताकै कारण एक वर्षमै सुनको मूल्य झन्डै दोब्बर भएको हो। उहाँले पश्चिम एसियाली तनावका कारण आगामी दिनमा मूल्य अझ बढ्न सक्ने संकेत गर्नुभयो।

तर मूल्य अत्यधिक बढेसँगै बजारमा माग घट्दा कारोबार भने प्रभावित भएको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि स्थानीय बजारमा खरिद घटेकाले व्यापार बढ्न सकेको छैन।

यसअघि २०८२ माघमा सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो भने पछि घटेर दुई लाख ७५ हजार रुपैयाँमा झरेको थियो। चाँदीको मूल्य पनि उतारचढावपूर्ण रहँदै आएको छ।

महासङ्घका अनुसार एक वर्षमा चाँदीको मूल्य तोलामा तीन हजार १२० रुपैयाँले बढेको छ। २०८२ वैशाखमा प्रतितोला एक हजार ९४५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर हाल पाँच हजार ६५ रुपैयाँ पुगेको छ।

नयाँ वर्षको पहिलो दिन मंगलबार मात्र सुनको मूल्य तोलामा तीन हजार १०० रुपैयाँले वृद्धि भएको छ। सोमबार दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेको हो। चाँदीको मूल्य पनि सोही दिन तोलामा १६५ रुपैयाँले बढेको छ।

मूल्य बढेसँगै बजारमा माग घट्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूको गुनासो छ। चैत महिनामा ठप्पजस्तै भएको कारोबार नयाँ वर्षसँगै सुधार हुने अपेक्षा गरिए पनि मूल्य वृद्धिले असर पारिरहेको छ।

नेपाल राष्ट्र बैंकले दैनिक २५ केजी सुन आयातको कोटा तोके पनि पछिल्लो दुई महिनादेखि बजारमा माग न्यून हुँदा वाणिज्य बैंकहरूले सुन आयात नगरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij