पोखरा : कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ। विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए।
यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार कामलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो। विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो। रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए। फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने उनको भनाइ छ।
सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माणको काम भइरहेको महानगरले जनाएको छ। सडकमा तीनवटा पुल पनि बन्नेछन्। पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ। महानगरकै गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो। चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास छ।
तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने जनाइएको छ। पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ। कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य छिट्टै सक्नुपर्ने स्थानीयवासीको माग छ।