काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
महालक्ष्मी विकास बैंकले चैत्र २ देखि चैत्र ८ गते सम्म साताव्यापी रूपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरू मार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
यस साताव्यापी अभियान अन्तर्गत बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगंज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बीचबजार, मंगलसेन, चिप्लेढुंगा लगायतका विभिन्न शाखा कार्यालयहरू तथा प्रादेशिक कार्यालयहरूले विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि कार्यक्रमहरू सञ्चालन गरेका छन्। “स्मार्ट मनी टक्स” भन्ने मूल नाराका साथ देशभरी आयोजना गरिएका कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासन सम्बन्धी विषयहरूमा जानकारी गराइएको छ। नेपाल राष्ट्र बैंक लगायतका विभिन्न संस्थाहरूले आयोजना गरेको वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रममा समेत बैंकले सहभागिता जनाएको छ।
ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकको नेपालगंज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज, बाँकेमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।
साथै बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक जानकारीहरू पोस्ट गर्नुका साथै भिडियो सामग्रीहरू समेत प्रसारण गरिएको छ। यस कार्यले किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।