सिन्धुलीको जिर्घा खोलामा पक्की पुल निर्माण हुदैँ, आवत–जावत र आर्थिक गतिविधिमा सुविधा पुग्ने
ई आर्थिक
बिहिबार, फाल्गुन १४ २०८२
2.4K
Shares
सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१२ स्थित जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय बासिन्दाका लागि आवत–जावत र आर्थिक गतिविधिमा सहजता आउने भएको छ।
स्थानीय पूर्वाधार विकास आयोजना हेटौडाले ४ करोड ३३ लाख ३३ हजार रुपैयाँको लागतमा ५० मिटर लामो डबल लेनको सिंगल स्पान पक्की पुल निर्माण थालिएको छ। पुल निर्माण पूरा भएपछि सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका दुई गाउँपालिकामा छोटो दूरीमा पुग्न सकिने भएको छ।
अघिल्ला वर्षमा सो क्षेत्रमा सडक र पुलको अभावले बिरामीलाई अस्पताल पुर्याउन र कृषिजन्य उत्पादन बजारमा लैजान कठिनाइ हुन्थ्यो। अब पुल निर्माण भएपछि कमलामाई नगरपालिका–१२, तीनपाटन, गोलन्जोर र फिक्कल गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई आवत–जावत गर्न सहज हुने स्थानीय बासिन्दा डेढलाल श्रेष्ठ र नारायण आलेले बताए।
स्थानीय पूर्वाधार विकास आयोजना हेटौडाका प्राविधिक राजिवकुमार साहका अनुसार पुलको निर्माण कार्य आगामी २०८३ साल असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जीवन कन्ट्रक्सन कम्पनीका प्रवन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले भने, “निर्माण कार्य तोकिएको म्यादभन्दा अगावै छिटो सम्पन्न गराउने तयारी छ।”
पुलको निर्माणले सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष योगदान पुग्ने विश्वास गरिएको छ।