१६ साउन, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को साउन २१ गते हुन लागेको निर्वाचनका लागि जिम्बा जाङ्बु शेर्पाको अध्यक्षतामा ‘प्यानल’ घोषणा भएको छ ।
सो समुहले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी औपचारिकरुपमा आफ्नो प्यानल घोषणा गरेको हो । आयोजित कार्यक्रममा शेर्पा प्यानल समर्थक पर्यटन व्यवसायी र शेर्पाहरुको बाक्लो उपस्थित रहेको थियो ।
शेर्पाको प्यानलमा प्रथम उपाध्यक्षमा भूमीलाल लामा, द्वितीय उपाध्यक्षमा ङिमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्कीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सदस्यहरु भने क्रमशः डा. हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्दप्रसाद पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहनुभएको छ ।

नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलसँग चुनाव लड्नेछ । निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुने भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी जिम्बाजाङबु शेर्पाले नेपाल पर्वतारोहण संघ जोगाउनका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुभयो । शेर्पाले आरोही पेशेवरहरुको हकहीतलाई अघि बढाउदै आरोहीहरुका टुहुरा छोराछोरीको पढाईलाई निरन्तरता प्रदान गर्ने, पेशेवर आरोहीहरुको पेशालाई सुरक्षित बनाउने तथा संघको गौरवपूर्ण इतिहासलाई जोगाउनेलगायतका प्रतिबद्धता जाहेर गर्नुभयो ।
त्यस्तै शेर्पा नेतृत्वको प्यानल अनुभवी र क्षमतावान पेशाकर्मी रहेकाले पूरै प्यानल विजयी हुने विश्वास महासचिवका उम्मेद्वार कुलबहादुर गुरुङले गर्नुभयो । उहांले एनएमए हाँक्न सक्ने टिमलाई अत्याधिक बहुमतले विजयी गराउन मतदाताहरु समक्ष अपीलसमेत गर्नुभयो ।