ई–आर्थिक, काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन्। काठमाडौँबाट उडेको बुद्ध एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट बाहिरिएपछि दुर्घटना भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आ–आफ्नो तहबाट अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्। मन्त्रालयका सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयस्तरीय छानबिन समिति गठन गरिएको छ।
मन्त्रालयले समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई दुर्घटना अनुसन्धानकर्ताको जिम्मेवारी दिएको छ। गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार उनले आवश्यकता अनुसार विषयगत विज्ञहरू समेटी अनुसन्धान गर्नेछन्।
यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरिसकेको छ। प्राधिकरणको फ्लाइट सेफ्टी विभागका वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा गठित समितिमा उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन्।
प्राधिकरणस्तरीय छानबिन समितिले निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसमक्ष ३५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयसीमा पाएको छ। समितिलाई दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने उड्डयन सुरक्षासम्बन्धी सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।