२०८३ भाद्र ३० मंगलबार

नेपाल लाइफको २६औँ वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, पौस २० २०८२
4.7K
Shares
नेपाल लाइफको २६औँ वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारणसभा पुस १९ गते शनिबार सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सम्पन्न भएको हो।

सभाले गत आर्थिक वर्षको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै सञ्चालक समितिका अध्यक्ष संघईले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक कार्य प्रगति प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ। त्यसैगरी कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरू (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू (गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाल) निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै साधारणसभाले बोनस शेयर जारी पछि हुने शेयर संरचना बमोजिम जारी तथा चुक्ता पूँजीलाई तदनुरूप वृद्धि गर्ने, बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कमपनीको प्रबन्धपत्र तथा नियमावलीमा उद्देश्य लगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरूका बीच अझै थप उचाइमा पुर्‍याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालीम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई समेत अवलम्बन गरिरहेको बताउदै कम्पनीको निरन्तर विकासको लागि दीर्घकालीन रणनीति निर्माण गर्न लर्निङ्ग म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरीय सेवाको अनुभूति गराउन, अटोमेसनको प्रयोगबाट कार्यक्षमता बढाउन कम्पनीलाई डिजिटल रूपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको पनि अध्यक्ष संघईले बताए।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवालाहरू एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गरे। आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्व कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजित भएको बताए।

सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा पनि कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिंदै आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसूस भएको बताए। लगानी विविधिकरणलाई केन्द्रबिन्दूमा राख्दै कम्पनी अगाडि बढिरहेको र सोलाई नै मूर्तता प्रदान गर्न विभिन्न कार्यहरू भइरहेको र सभामा प्राप्त सुझावलाई सकारात्मक रूपमा लिने बताए।

२०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष १३ अर्ब रुपैयाँ बढी रहेको छ। कम्पनीले हालसम्म ३२६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने १०३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij