काठमाडौं । सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. २०५९ सालमा देशको १७ औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २३ औँ वर्ष पूरा गरेको छ। बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा नक्सालस्थित प्रधान कार्यालय भवनमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रममा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतसहित बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाउने उद्देश्यले बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। यसअन्तर्गत फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। साथै, बैंकमा कार्यरत रही १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम पनि आयोजना गरिएको छ।
यसै अवसरमा बैंकले विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा स्थानीयवासी गरी कुल ४८८ जनाले रक्तदान गरेका छन्। रक्तदातामध्ये ४३४ जना पुरुष र ५४ जना महिला रहेका छन्।

बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरूले संस्थागत एकता सुदृढ गर्ने, कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।