२०८३ साउन १० आइतबार

कैलालीका किसानलाई जडीबुटीमा आकर्षित गर्दै प्रशोधन केन्द्र

ई आर्थिक    शुक्रबार, मंसिर २६ २०८२
2.8K
Shares
कैलालीका किसानलाई जडीबुटीमा आकर्षित गर्दै प्रशोधन केन्द्र

भजनी। कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरूलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ ।

मेन्थालगायतका जडीबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै निःशुल्क प्रशोधनसहित उत्पादन भएको तेल खरिद गरेर किसानलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको हो ।

उत्पादन भएको मेन्था निःशुल्क प्रशोधन गर्दै खरिदको काम पनि केन्द्रले गर्दै आएको छ । बर्सेनि मेन्थाखेती गर्ने किसानको लगत संकलन गरेर खेती विस्तार गर्ने काम केन्द्रले गर्दै आएको छ ।

गत वर्ष प्रशोधन केन्द्रले तीन हजार २०० केजी तेल खरिद गरेको थियो । यस वर्ष पाँच हजार केजी तेल खरिद गर्ने लक्ष्य लिइएको छ । मेन्थाको तेल प्रतिकेजी एक हजार ५०० मा खरिद गर्दै आएको कार्यालय प्रमुख कमलराज बेलबासेले जानकारी दिए। प्रशोधन केन्द्रको नाममा टीकापुरमा तीन हेक्टर जमिन छ ।

त्यो जमिनको केही भागमा मेन्था र क्यामोमाइलको बीउ उत्पादन हुन्छ । उत्पादन भएको बीउ किसानलाई प्रतिकेजी १२ मा बिक्री गरिँदै आएको छ । क्यामोमाइलको बीउ निःशुल्क वितरण हुँदै आएको छ ।

‘एक केजी बीउ उत्पादनमा हामीले झन्डै रु ८६ खर्च गर्दै आएका छौँ । त्यहीँ बीउ किसानलाई १२ प्रती केजी वितरण गर्छौं’ ,उनले भने, ‘एक बिघा क्षेत्रफलका लागि १२० केजीसम्म बीउ चाहिन्छ ।’ कार्यालय प्रमुख बेलबासेका अनुसार एक बिघा क्षेत्रफलमा न्यूनतम १०० केजी तेल उत्पादन गर्न सकिन्छ ।

झन क्यमोमाइलको तेलको मूल्य निकै महँगो छ । एक केजी क्यामोमाइल प्रशोधन केन्द्रले १९ हजारमा खरिद गर्दै आएको छ । यसको खेती माघ महिनामा गरिन्छ । किसानले तोरीखेती भित्र्याएर मेन्थाखेती गर्न सकिन्छ भने जेठमा यसलाई भित्र्याउनुपर्छ । त्यसो गर्दा किसानले असारमा सहजै धानखेती पनि गर्न सकिने कार्यालय प्रमुख बेलबासेले बताए।

कार्यालय प्रमुख बेलबासेका अनुसार प्रशोधन केन्द्र लिप्टिसको पातबाट समेत तेल उत्पादन गर्दै आएको छ । तराईका जिल्लाहरूमा व्यावसायिक रुपमा गरिँदै आएको लिप्टिसका पातलाई प्रशोधन गरेर उत्पादन भएको तेल केन्द्रले प्रतिकेजी एक हजार १५० मा खरिद गर्दै आएको छ । गत वर्ष ६०० केजी लिप्टिसको तेल प्रशोधन केन्द्रले उत्पादन गरेको थियो ।

केन्द्रले वार्षिक पाँच हजारभन्दा बढीलाई रोजगारी समेत दिँदै आएको छ । दैनिक ज्यालादारीमा केन्द्रमा अधिकांश महिलाहरूले काम गर्ने गर्छन् । मेन्थाको गोडमेल, दाउरा संकलन, सिँचाइ, बीउ निकाल्ने, तेल प्रशोधनका अन्य काममा केन्द्रले रोजगारी सिर्जना गर्दै आएको कार्यालय प्रमुख बेलबासे बताउँछन्।

‘मैले झण्डै ११ वर्षदेखि यसैमा काम गर्दै आएकी छु’, स्थानीय सम्झना पाण्डेले भनिन्, ‘घरायसी कामकाज सकेर दिउँसोको समयमा काम पाउँदा घर खर्चको जोहो गर्न अर्को विकल्प खोज्नुपरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij