२०८३ भाद्र २६ शुक्रबार

किसान बहुउद्देश्यीय सहकारीको ३० बर्षे बलियो यात्रा : ६ अर्बभन्दा बढीको सम्पत्ति, १४ करोड नाफा

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०८२
12K
Shares
किसान बहुउद्देश्यीय सहकारीको ३० बर्षे बलियो यात्रा : ६ अर्बभन्दा बढीको सम्पत्ति, १४ करोड नाफा

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सव विविध रचनात्मक कार्यक्रमहरू गर्दै मनाएको छ।

वार्षिकोत्सवको अवसरमा संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै तीन दशकको यात्रामा साथ, समर्थन र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा पनि निरन्तर सहयोग र विश्वासको अपेक्षा राख्नुभयो।

२५ सदस्यबाट सुरु, अहिले ९१ हजारभन्दा बढी सदस्य

२०५२ साल कार्तिक १७ गते २५ जना शेयर सदस्यबाट ६० हजार तीन सय रुपैयाँ शेयर पूँजी संकलन गरी स्थापना भएको सहकारीले तीन दशकमा उल्लेखनीय प्रगति गरेको छ। हाल संस्थामा ९१ हजार ७२३ सदस्य छन् र यसको कुल सम्पत्ति ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

वार्षिकोत्सवको अवसरमा सहकारीले रक्तदान कार्यक्रम, कर्मचारीस्तरीय अतिरिक्त क्रियाकलाप, वातावरणमैत्री अभियान (आहार प्रवर्द्धन कार्यक्रम) र त्रैमासिक मुखपत्र ‘किसान दर्पण’को विमोचन गरेको छ।

प्रशंसनीय कर्मचारीहरू सम्मानित

औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले समुदाय–केन्द्रित उद्देश्यका साथ अघि बढिरहेको संस्थाको प्रगति सदस्यहरूको विश्वास र सहकार्यकै परिणाम भएको बताउनुभयो।
उहाँको अध्यक्षतामा सम्पन्न समारोहमा गत आर्थिक वर्षको उत्कृष्ट कार्यसम्पादनका आधारमा १५ जना कर्मचारीलाई पुरस्कृत र सम्मान गरिएको थियो।

पुरस्कृत शाखा प्रमूखहरूमा चन्द्रकान्त रेग्मी, चक्रप्रसाद भण्डारी, प्रविण चौधरी र दिलमाया थापा मगर रहेका छन्। अन्य सम्मानित कर्मचारीहरूमा उषा राना मगर, भूपेन्द्र रावल, दिपेन्द्र बटाला, सुदिप थारु, धिर्जा कुमारी ढकाल, मेनका हमाल, नरपता कुमारी जैसी, रिमा चौधरी, प्रेम चौधरी, दिलिप कठरिया र मनिष राना रहेका छन्।

 

रक्तदान कार्यक्रममा १०० प्वाइन्ट रगत सङ्कलन भई टीकापुर रेडक्रसलाई हस्तान्तरण गरिएको थियो।

तीन प्रमुख सेवाबाट व्यवसायिक विस्तार

संस्थाले हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका राजापुर नगरपालिकासहितका क्षेत्रमा सेवा विस्तार गरेको छ। यसले बचत तथा ऋण सेवा, किसान–कोप एग्रो बिजनेस र किसान–कोप मार्टमार्फत वित्तीय, कृषि र उपभोक्ता सेवा प्रदान गर्दै आएको छ।

हाल संस्थाका ४१ शाखा कार्यालय र एग्रो तथा मार्टतर्फ ९ आउटलेटसहित ५० सेवा केन्द्र सञ्चालनमा छन्। सहकारीले विगतका वर्षदेखि सदस्यहरूलाई लाभांश, संरक्षण कोषमार्फत राहत, सुत्केरी स्याहार, काजकृया खर्च, प्राकृतिक प्रकोप र रोग उपचार सहयोगलगायतका गैरवित्तीय सुविधाहरू वितरण गर्दै आएको छ।

संस्थाका अनुसार हालसम्म २९ करोड रुपैयाँ बराबरका गैरवित्तीय सुविधा सदस्यहरूलाई वितरण गरिएको छ।

वार्षिकोत्सवकै अवसरमा संस्थाले आफ्नो पञ्चवर्षीय योजनाको प्रारम्भिक मस्यौदा पनि सार्वजनिक गरेको छ। उक्त योजनामा वित्तीय सुदृढीकरणसँगै समावेशी उत्पादन, उद्यम विकास, रोजगारी, सहकारी शिक्षा, नवप्रवर्तन, इन्क्यूबेसन सेन्टर, विद्यालयस्तरीय थ्री–जिरो क्लब विस्तार र सदस्यका लागि स्वास्थ्य तथा शिक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
योजना आगामी ३१औँ साधारणसभाबाट स्वीकृत भएपछि चरणबद्ध रूपमा कार्यान्वयन गरिने बताइएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा संस्थाले १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। हाल संस्थाको कुल सम्पत्ति ६ अर्ब ९२ करोड ४८ लाख ४६ हजार ७९२, पुँजी कोष १ अर्ब ६१ करोड ७३ लाख ५१ हजार २९५, लगानीमा रहेको ऋण ५ अर्ब १ करोड १४ लाख ६ हजार २६७ र सदस्य बचत ४ अर्ब ८१ करोड ६६ लाख ९४ हजार ८२७ रुपैयाँ रहेको सहकारीले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा सबै शाखा कार्यालयमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरिएको थियो। केन्द्रिय कार्यालयमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वसञ्चालक, पूर्व लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सल्लाहकार समिति सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij