पोखरा, कास्की । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१०, अमरसिंहचोकस्थित आफ्नो अमरसिंह शाखा नयाँ भवनमा स्थानान्तरण गर्ने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार, शाखा कार्यालय आगामी २०७९ कार्तिक १६ गतेदेखि नयाँ स्थानबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आउनेछ।
बैंकका अनुसार हालको शाखास्थानबाट करिब ५० मिटर पश्चिमतर्फ रहेको नयाँ भवनमा शाखा सारिनेछ। नयाँ शाखा पनि अमरसिंहचोकमै अवस्थित हुनेछ।
शाखा स्थानान्तरणसँगै लकर सेवा पनि मिति २०७९ कार्तिक १४ गतेमै स्थानान्तरण गरिनेछ। सो अवसरमा बैंकले लकर प्रयोग गर्ने ग्राहकहरूलाई उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पर्क राखी लकरभित्र भएका टुटफुट हुन सक्ने सामग्रीहरू सुरक्षित गर्न अनुरोध गरेको छ। अन्यथा, स्थानान्तरणको क्रममा हुन सक्ने क्षतिप्रति बैंक जिम्मेवार नहुने जानकारी दिइएको छ।
बैंकले स्थानान्तरणका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारीका लागि सम्बन्धित शाखासँग सम्पर्क गर्न आग्रह गरेको छ।
