ई-आर्थिक, गुल्मी । गुल्मी जिल्लामा तीन दिनदेखि जारी अविरल वर्षाका कारण कालीगण्डकी करिडोरसहित तीनवटा प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। वर्षासँगै आएको पहिरो र खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कालीगण्डकी करिडोरको गुल्मी खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा ठूलो पहिरो खसेपछि गए रातिदेखि सडक पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास सडकखण्डमा रुरुक्षेत्र गाउँपालिका–३, सल्लेरीमा पहिरो खसेको छ भने रिडी–वामीटक्सार सडकखण्डको सत्यवती गाउँपालिका–६, डहरेखोलामा खोलाको पानीको बहाव बढ्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।
तीनवटै मुख्य सडक अवरुद्ध भएपछि सवारी साधनहरु गन्तव्यमै रोकिएका छन्। यसले पर्वत, बागलुङ, पाल्पा, तम्घास तथा बुटवलतर्फ आवतजावत गर्ने यात्रुहरूलाई ठूलो समस्या भएको छ।
स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीले पहिरो हटाउन उपकरण तयारी अवस्थामा राखे पनि लगातारको वर्षाले काम गर्न कठिनाइ भएको बताइएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय गुल्मीले पहिरोग्रस्त क्षेत्र तथा खोलातटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सारिन अपिल गरेको छ।
प्रशासनले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आवश्यक तयारी तीव्र पारिएको जनाएको छ।