२०८३ साउन ११ सोमबार

गगन थापाको आक्रोश : “प्रधानमन्त्रीले अबिलम्ब राजीनामा दिनुपर्छ, कांग्रेस सरकारबाट फिर्ता होस्”

ई आर्थिक    मंगलबार, भाद्र २४ २०८२
1.6K
Shares
गगन थापाको आक्रोश : “प्रधानमन्त्रीले अबिलम्ब राजीनामा दिनुपर्छ, कांग्रेस सरकारबाट फिर्ता होस्”

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमाथिको दमन र त्यसबाट भएका किशोर-किशोरीको ज्यान गएको घटनाप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै उनले प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने माग गरेका छन्। साथै, कांग्रेस तत्कालै सरकारबाट बाहिरिनुपर्ने उनले स्पष्ट रूपमा बताएका छन्।

“रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन,” लेख्दै थापाले निर्दोष युवाहरूको निर्मम हत्या आफ्नो आँखाअगाडि घुमिरहेकाले आफू मर्माहत भएको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्रीलाई कडा भाषामा दमनको जिम्मेवारी लिन र पदबाट अबिलम्ब राजीनामा दिन माग गरेका छन्। “प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,” थापाले लेखेका छन्।

साथै उनले नेपाली कांग्रेसलाई पनि अब यस्ता घटनाहरूको “साक्षी र साझेदार” भएर बस्न नमिल्ने बताएका छन्। उनका अनुसार पार्टीले सरकारबाट फिर्ता हुने निर्णय अब ढिलो गर्नु हुँदैन।

“अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,” थापाको भनाइ छ।

कांग्रेस नेतृत्वमा रहेका थापा लामो समयदेखि सरकारभित्रको नीति, भ्रष्टाचार र सुशासनको मुद्दामा स्पष्ट र प्रखर धारणा राख्दै आएका छन्। पछिल्लो अभिव्यक्तिले सत्तारूढ गठबन्धनभित्र दबाब थपिएको संकेत देखिएको छ।

भदौ २३ गते काठमाडौंलगायत देशभर ‘जेनजी’ पुस्ताले आयोजना गरेको भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको पुष्टि भएपछि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विरोध चुलिएको छ। गगन थापाको अभिव्यक्तिलाई कांग्रेसभित्रको असन्तुष्ट धारको औपचारिक आवाजको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij