२०८३ साउन १० आइतबार

अन्नपूर्ण पदमार्गमा ढकमक्क फुलेका पोथ्रे गुराँसले पर्यटक लोभ्याउँदै

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
2.4K
Shares
अन्नपूर्ण पदमार्गमा ढकमक्क फुलेका पोथ्रे गुराँसले पर्यटक लोभ्याउँदै

ई-आर्थिक, म्याग्दी ।  अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्ग अहिले पोथ्रे गुराँसको आकर्षणले भरिपूर्ण बनेको छ।

हिमाल, झरना, तालतलैया र हरियालीले भरिएको यो पदमार्गमा अहिले ढकमक्क फुलेका रंगीचंगी पोथ्रे गुराँसले पर्यटकहरूलाई स्वागत गरिरहेका छन्। हुमखोलादेखि सुनखोलासम्मको बाटो विशेष रूपमा गुराँसको सौन्दर्यले झनै मनमोहक देखिएको छ।

वनस्पति विज्ञ कमल मादेनका अनुसार, नेपालमा पाइने ३३ प्रजातिका गुराँसमध्ये पोथ्रे गुराँस सानो र रैथाने प्रजाति हो। अधिकतम तीन मिटर अग्लो हुने यो प्रजाति प्राकृतिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ।

उनका अनुसार, यो फूल जेठदेखि भदौ महिनासम्म फुल्ने गर्दछ। तर पछिल्ला वर्षहरूमा डढेलो, वातावरणीय प्रदूषण र मानवीय असरका कारण पोथ्रे गुराँस अलपत्र र संकटग्रस्त अवस्थामा पुगेको छ। संरक्षण अभावले गर्दा यो दुर्लभ प्रजाति लोप हुने जोखिममा छ।

पदमार्गमा रातो, गुलाबी, सेतो र बैजनी रंगका गुराँसहरू फुलिरहेका छन्, जसले पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लोभ्याइरहेका छन्। मादेनले गुराँसको संरक्षणमा स्थानीय तह, वन डिभिजन र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको अन्नपूर्ण पदमार्ग फूल, वनस्पति र हिमालको संगमस्थलका रूपमा चिनिन्छ। यहाँको जैविक सम्पदाले पर्यटन विकासमा थप योगदान पुर्‍याउने सम्भावना रहेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij