२०८३ साउन १० आइतबार

कर्णाली राजमार्ग खुल्यो, १३ करोडको स्याउ बाच्यो

ई आर्थिक    मंगलबार, भाद्र १७ २०८२
2.2K
Shares
कर्णाली राजमार्ग खुल्यो, १३ करोडको स्याउ बाच्यो

ई-आर्थिक, सुर्खेत ।  तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग आजबाट पूर्ण रूपमा सुचारु भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएको पहिरो हटाएपछि राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

अविरल वर्षापछि गगने खोलामा खसेको ठूलो पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि दर्जनौं मालवाहक ट्रक बाटोमै थन्किएका थिए। जुम्लाबाट काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत स्थानतर्फ पठाइएको स्याउ तीन दिनदेखि बाटोमै रोकिएको थियो।

जुम्ला कृषि विकास कार्यालयका अनुसार २३ वटा ट्रकमा करिब १८४ मेट्रिकटन स्याउ अड्किएको थियो, जसको बजार मूल्य करिब १३ करोड रुपैयाँ बराबर छ। समयमै गन्तव्यमा स्याउ नपुगे सडेगलेर नष्ट हुने खतरा बढेको भन्दै व्यापारीहरू चिन्तित थिए।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूसमेत ठूलो सास्तीमा परेका थिए। स्थानीय व्यापारी, किसान र यात्रुहरूले तत्काल सडक खुलाउन माग गर्दै आएका थिए।

सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहका जनशक्ति परिचालन गरिएको थियो। भारी वर्षाका कारण पहिरो हटाउन कठिनाइ भए पनि नेपाली सेनाको टोली खटिएपछि पहिरो पन्छाउने काम सफल भएको जनाइएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार गगने खोलामा खसेका ठूला ढुंगा फुटाउन समय लागेको हो। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परिचालित टोलीले निरन्तर प्रयास गरेपछि राजमार्ग सुचारु भएको बताए।

स्थानीय बासिन्दाले बारम्बार पहिरो जाने गगने खोलामा दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij