ई-आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको ६ अर्ब १३ करोड ७४ लाखको तुलनामा यो नाफा केही वृद्धि हो।
यद्यपि, सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँमा सीमित रह्यो। अघिल्लो वर्ष यो आँकडा १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ थियो।
बैंकको वितरणयोग्य नाफा भने उल्लेख्य रूपमा वृद्धि भई ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.११ प्रतिशत रहेको देखिएको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा मात्र ५० करोड ६७ लाख रुपैयाँ थियो।
ग्लोबल आइएमईको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ भने जगेडा कोष २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड २० लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेर २१ अर्ब २७ करोड ६४ लाख पुगे पनि सञ्चालन नाफा २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ५ लाखमा झरेको छ।
बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.९५ प्रतिशतले वृद्धि हो। त्यस्तै, कर्जा लगानी ११.४६ प्रतिशतले बढेर ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी (EPS) १६.२८ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको १६.९९ रुपैयाँभन्दा थोरै कम हो। प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५.९५ गुणा रहेको छ।
बैंकको खराब कर्जा दर ४.८७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.१७ प्रतिशत थियो।