२०८३ साउन ११ सोमबार

आँबुखैरेनीका कृषकलाई सीपसँगै एकसय ९२ थान मौरीघार वितरण

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
3.2K
Shares
आँबुखैरेनीका कृषकलाई सीपसँगै  एकसय ९२ थान मौरीघार वितरण

ई-आर्थिक, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका कृषकलाई सीपसँगै मौरीघार वितरण गरिएको छ। आँबुखैरेनी-६ हिलेखर्कका कृषकलाई मौरीपालनसम्बन्धी तालिमसँगै ७५ प्रतिशत अनुदानमा मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको हो।

गाउँपालिकालाई मह पालिकाका नामले परिचित गराउने र मह उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषकलाई व्यावसायिक बनाउन एकसय ९२ थान मौरीघार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

हिलेखर्क मौरीपालनका लागि उपयुक्त रहेको भन्दै उनले मौरीपालन सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएका कृषकलाई यो व्यवसायमा आबद्ध गराउन पहल थालिएको उनले बताए। उनले भने, ‘पालिकाको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमबमोजिम कृषकलाई तालिम दिएर मौरीघार वितरण गरेका छौँ। पालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ।’

मौरीपालन कार्यक्रमले कृषकहरू उत्साहित भएका र यस व्यवसायले कृषकको जीवनशैलीमा परिवर्तन ल्याइ आर्थिक समृद्धि प्राप्त गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले आँबुखैरेनी-५ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ। केन्द्रले ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाको समन्वयमा अनुदानमा मौरीघार वितरण गरेको हो।

आँबुखैरेनी-५ माई छिम्केश्वरी कृषक समूहलाई मौरीसहितका घार, महदानी वितरण गरिएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। उनका अनुसार कृषकलाई एकसय थान मौरीघार वितरण गरिएको छ।

उनले भने, ‘कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपसँगै मौरीसहितका घार वितरण गरिएको हो। यसले कृषकलाई आयआर्जनमा जोड्न सहयोग गर्नेछ।’ यस ठाउँमा मौरीपालनको उपयुक्त सम्भावना रहेकाले कृषकलाई मौरीपालन व्यवसायमा आबद्ध गराउन खोजिएको उनको भनाइ छ।

आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले यहाँका अधिकांशको आम्दानीको प्रमुख स्रोत कृषि भएकाले मौरीपालन व्यवसाय उपयुक्त रहेको बताए। कृषकलाई स्वरोजगार बनाउँदै महमा आत्मनिर्भर बनाउने उहेश्य रहेको भन्दै आगामी दिनमा कृषिसम्बन्धी अन्य कार्यक्रम पनि गाउँपालिकाको समन्वयमा ल्याइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij