२०८३ साउन ९ शनिबार

‘विपन्न वर्गको जीवनस्तर माथि उकास्ने पहिलो खुड्किलो भनेकै लघुवित्त हो’

ई आर्थिक    आइतबार, बैशाख १४ २०८२
7.7K
Shares
‘विपन्न वर्गको जीवनस्तर माथि उकास्ने पहिलो खुड्किलो भनेकै लघुवित्त हो’

लघुवित्तलाई राष्ट्र बैंकको हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

नेपाल राष्ट्र बैंक अन्तर्गत ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार किसिमका वित्तीय संस्थाले काम गरिरहेका छन् । त्यस अन्तर्गत लघुवित्तहरु ‘घ’ वर्गमा पर्छ । नेपाल राष्ट्र बैंकले नीति तथा नियमहरु बनाउँदा ‘क’ वर्गका वित्तीय संस्थालाई मात्र प्राथमिकतामा राखेर बनाएको पाइन्छ । अर्थात तुलनात्मक रुपमा हेर्दा अन्य वर्गका वित्तीय संस्थाहरुलाई जति प्राथमिकता दिइएको छ, लघुवित्तलाई त्यतिको प्राथमिकता दिएको पाइदैन । लघुवित्त भनेको देशका दूर दराजमा पुगेर अति विपन्न परिवारमा बैंकिङ साक्षरता उपलब्ध गराउने पहिलो वित्तीय संस्था हो । हामी धेरै विकट ठाउँहरुमा पुगेर वित्तीय सेवा उपलब्ध गराइरहेका हुन्छौं । त्यसैले नेपाल राष्ट्र बैंकले जहिले पनि लघुवित्तलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

अन्य वित्तीय संस्था भन्दा ‘घ’ वर्गका वित्तीय संस्थाहरु अलि पृथक किसिमका हुन्छन् । हाम्रो काम गर्ने तरिका र अन्य वित्तीय संस्थाहरुको काम गर्ने तरिका नै फरक छ । उनीहरुको ‘टार्गेट गु्रप’ र हाम्रो ‘टार्गेट ग्रुप’ नै फरक छ । अन्य वित्तीय संस्थाहरु विना धितो कर्जा प्रवाह गर्दैनन् । तर हामी धितो विना नै कर्जा प्रवाह गरिरहेका हुन्छौं । त्यसैले अन्य वित्तीय संस्थाको नीति नियम र हाम्रो नीति नियम छुट्टै बनाउनुपर्छ ।
बैंक वित्तीय क्षेत्र भनेको ‘सेन्सेटिभ’ क्षेत्र हो । त्यसमा पनि लघुवित्त अझ बढी ‘सेन्सेटिभ’ क्षेत्र हो । हामी गरिबसँग काम गर्छौ । त्यसमा पनि महिला केन्द्रित भएर काम गर्छौ । विना धितो ऋण प्रवाह गर्छौ । त्यसैले सम्बन्धित निकायले नीति नियम बनाउँदा लघुवित्तको ‘सेन्सेटिभनेस’लाई बुझेर बनाउनुपर्छ ।

नेपाल राष्ट्र बैंकले के गरिदियो भने तपाईहरुलाई काम गर्न अझ सजिलो हुन्छ ?

नेपाल राष्ट्र बैंकको ‘सुपरभिजन मोनिटरिङ’ अझ शसक्त हुनुपर्छ । लघुवित्तको गतिलाई अझ वृद्धि गर्ने हो भने राष्ट्र बैंकले तीन चारवटा कुरालाई सुधार गर्नुपर्छ । हामीेले वाणिज्य बैंकबाट पैसा लिएर कर्जा प्रवाह गर्नुपर्छ । हामीले निक्षेप संकलन गर्न पाउँदैनौ । हामी वाणिज्य बैंकमा निर्भर रहनुपर्ने हुन्छ । लघुवित्तलाई निश्चित रकमसम्म निक्षेप संकलन गर्न दिनुपर्छ । राष्ट्र बैंकले ‘डिप्राइभ्ड सेक्टर’मा लगानी गर्न छुट्याएको ५ प्रतिशत कर्जा लघुवित्तमार्फत जाने व्यवस्था गर्नुपर्छ । हामीले अहिले काठमाडौंमा केन्द्रीय कार्यालय राख्न पाउँदैनौं । सबै निकायहरु काठमाडौंमा नै रहेकाले सानो सानो काम गर्न पनि काठमाडौंमा नै आउनुपर्ने बाध्यता छ । एउटा दूर दराजमा काम गर्ने संस्था पटक पटक काठमाडौं आइराख्नु पर्दा उसको ‘कस्ट अफ फण्ड’ बढिरहेको हुन्छ । यसरी ‘कस्ट अफ फण्ड’ घटाउनका लागि भएपनि हामीलाई काठमाडौंमा केन्द्रीय कार्यालय खोल्न दिनुपर्छ ।
त्यस्तै कस्ता व्यक्तिलाई कर्जा प्रवाह गरिरहेका छौं भन्ने कुरा बुझ्न हामीलाई ‘एक्सेस’ दिइएको छैन । अर्थात हामीले कर्जा प्रवाह गरेको व्यक्ति कस्तो हो भनेर हेर्नलाई लघु वित्त क्षेत्रमा मत्र सकिन्छ । अन्य वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएको छ कि छैन भनेर हेर्न सकिदैन । यसले गर्दा हामीले कर्जा प्रवाह गर्ने व्यक्ति कालोसूचिमा परेको छ कि छैन भनेर हामीलाई थाहा हुदैन । विना धितो कर्जा प्रवाह गर्ने भएका त्यस्ता व्यक्तिहरु हामीकहाँ बढी मात्रामा आउने गर्दछन् । त्यसैले जसरी अन्य वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्नु भन्दा पहिला ऊ कालोसुची परेको छ कि छैन, उसले कुन कुन बैंकबाट कर्जा लिएको छ जस्ता कुराहरु हेर्ने गरिन्छ । त्यस्तो व्यवस्था हामीलाई पनि हुनुपर्छ । त्यस्तै अर्को भनेको स्थानीय सरकारसँग लघुवित्तलाई जोड्ने काम गर्नु पर्छ । यसो भएमा हामीलाई विपन्न वर्गसम्म पुगेर काम गर्न सहज हुनेछ । अहिलेसम्म लघु वित्तले पाँच खर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको छ । त्यसमा पनि ८० प्रतिशत भन्दा बढी विना धितोको लगानी रहेकोे छ । हामीले ठूलो जोमिख मोलेर लगानी गरिरहेका छौं । यदि स्थानीय निकायसँग हामीलाई जोडियो भने जुन जोखिम मोलेर हामीले लगानी गरेका छौं । त्यो हुँदैन र लक्षित वर्षमा लगानी गर्न सकिन्छ । लगानीको ‘मिसयुज’ हुँदैन ।

यति धेरै वित्तीय संस्थाहरु छन् । लघुवित्तको आवश्यकता किन प¥यो ?

‘जनरलाइज्ड’ गरेर हेर्दा तपाईले भनेजस्तै देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकहरु छन् । विकास बैंकहरु छन् । त्यसमा पनि क्षेत्रीयस्तर, प्रदेशस्तर र राष्ट्रियस्तरका विकास बैंकहरु छन् । फाइनान्स कम्पनीहरु छन् । सहकारीहरु त्यतिकै छन् । र पनि किन चाहियो लघुवित्त भन्ने लाग्नु स्भाविक नै हो । तर कुरो त्यस्तो होइन । सबै वित्तीय संस्थाहरु नाफा केन्द्रित छन् । उनीहरुले व्यापार गर्ने हो । जुन ठाउँमा नाफा देख्छन्, त्यही ठाउँमा लगानी गर्ने गर्दछन् । नाफा नभएको ठाउँमा उनीहरु जादैनन् । उनीहरुको ‘टार्गेट ग्रुप’ भनेको पैसा भएका वर्ग हुन्छन् । तर हामी सेवामुखी छौं । मैले अघि पनि भने दूर दराजमा पुगेर वित्तीय साक्षारता अभिवृद्धि गर्ने संस्था भनेको हामी नै हौं । जुन वर्ग पिछडिएको छ, विपन्न छ । त्यस्ता वर्गका महिलाहरुलाई प्राथमिकतामा राखेर वित्तीय सेवा उपलब्ध गराउने संस्था हामी नै हौं । उनीहरुलाई कर्जा उपब्ध गराई उनीहरुको जीवनस्तर माथि उकास्ने संस्था भनेको हामी नै हौं । अन्य वित्तीय संस्था नपुगेका विकट ठाउँमा पुगेर बैंकिङ सिकाउने संस्था भनेको हामी नै हौं । नेपाल जस्तो देशमा त लघु वित्तको भूमिका अझ प्रभावकारी हुन्छ ।

लघुवित्तहरुले साहु महाजनको भन्दा बढी व्याज लिएर सर्वसधारणको उठिबास लगाए भन्ने गरिन्छ नि । के भन्नुहुन्छ ?

यो गलत हो । नबुझेर यसो भनिएको हो । लघुवित्तको बारेमा केही पनि नबुझेका र लघुवित्तमा कारोबार नगरेका मान्छेहरुले यस्तो कुरा गर्ने गर्दछन् । अर्को भनेको यसलाई राजनीतिक लाभ लिने विषय बनाइयो । त्यस्तै आफ्नो व्यक्तिगत लाभको लागि पनि यस्तो कुरो गर्ने गरेको पाइन्छ । ठूला बढा भन्दाहरुले यसो भनिरहेका हुन्छन् । जसले वाणिज्य बैंकहरुमा ठूलो रकम कर्जा लिएका हुन्छन् र उनीहरुलाई कर्जा चुक्ता गर्न सकस भइरहेको हुन्छ, उनीहरुले आफू बच्नका लागि अरुलाई हिलो छ्याप्ने काम गरेका हुन् । जसले गाउँको परिवेस बुझेको छैन, लघुवित्तको बारेमा थाहा छैन । उसले लघुवित्तको बारेमा नकारात्मक टिक्काटिप्पणी गर्दै हिडेको पाइन्छ । यस्ता अराजक तत्वहरुलाई सरकारले नियन्त्रणमा लिएर कार्बाही गर्न ढिलाइ गर्नु हुदैन ।
सर्वसाधारणको उठिबास होइन, सर्वसाधारण र विपन्न वर्गको जीवनस्तर चाँही हामीले माथि उठाउन महत्वपूर्ण भूमिका खेलेका छौं । यदि लघुवित्त थिएन भने विपन्न परिवारको जीवन भयावह हुने थियो । विश्वमा नेपाल नै यस्तो देश हो, जुन लघुवित्तहरुले सस्तो व्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । हामीले १५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेका हुन्छौं । भारतमा २२ देखि २६ प्रतिशतसम्म छ । बंगलादेशमा २२ देखि २७ प्रतिशतसम्म छ । कम्तिमा २१ प्रतिशत भन्दा कममा कर्जा प्रवाह गर्ने लघुवित्तहरु विश्वमा कही पनि छैनन् । तर हामीले १५ प्रतिशतमा कर्जा प्रवाह गरिरहका छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij