२०८३ साउन १० आइतबार

लगानी कोषहरूको रकम उत्पादनशील क्षेत्रमा लगाउनु पर्नेमा अध्यक्ष ढकालको जोड

ई आर्थिक    सोमबार, चैत्र ४ २०८१
2.9K
Shares
लगानी कोषहरूको रकम उत्पादनशील क्षेत्रमा लगाउनु पर्नेमा अध्यक्ष ढकालको जोड

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषको रकम उत्पादनमूलक क्षेत्र र रोजगारी वृद्धिमा प्रयोग गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्ता कोषको ध्यान सोही दिशामा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र हाइड्रोपावरजस्ता क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले यी कोषको करिब ५२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रूपमा रहेको उल्लेख गर्दै त्यसलाई रोजगारी सिर्जना र विकास निर्माणमा लगाउनुपर्ने बताए ।

‘नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषसहित अन्य कोषमा रहेको करिब ५२ प्रतिशतभन्दा बढी रकम बैंकमा फिक्स डिपोजिटमा छ,’ उनले भने, ‘यो परिस्थितिमा लगानी विविधीकरणका लागि नयाँ नीति ल्याइएको छ, जुन प्रशंसनीय छ। नागरिक लगानी कोषमा करिब दुई खर्ब ७० अर्ब, सामाजिक सुरक्षा कोषमा एक खर्ब र सञ्चय कोषमा पनि ठूलो रकम छ। तर, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र जनतालाई सेवा प्रदान गर्न यी कोषको प्रयोग प्रभावकारी रूपमा गर्न सकिएको छैन।’

उनले थपे, ‘निश्चित प्रतिशत रकम मेरिटका आधारमा पूर्वाधार, रोजगारी, पर्यटन र हाइड्रोपावरमा लगानी गर्नुपर्छ। सरकारी कम्पनीमा लगानी सुरु भइसकेको छ, अब निजी क्षेत्रका परियोजनामा पनि लगानी विस्तार गर्न जरुरी छ ।’ अध्यक्ष ढकालले यस्ता कोषमा जम्मा भएको रकम विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जनामा लगानी गर्ने गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij