काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा ‘कारोबारी प्रकृतिको’ उनको विदेश नीतिका विभिन्न असर नेपालसम्म आइपुग्न सक्ने परराष्ट्र र आर्थिक मामिलाका विज्ञहरूले बताएका छन्।
पदभार ग्रहण गर्नुअगावै विभिन्न देशहरूमाथि कर लगाउने र आप्रवासनसहितका क्षेत्रमा कडा नीति ल्याउने घोषणा गरेका ट्रम्पको यो कार्यकालमा लेनदेनमा आधारित विश्वव्यवस्था फस्टाउने कतिपयले विश्लेषण गरिरहेका छन्।
अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एउटा अखबार ‘फरन पोलिसी’को अनलाइन संस्करणमा प्रकाशित एउटा लेखमा प्रभावशाली देश र कम्पनीलाई ट्रम्पको शासनकालमा लाभ पुग्न सक्ने तर अरूलाई खासै फाइदा नहुने विश्लेषण गरिएको छ।
परराष्ट्र मामिलाका कतिपय जानकारहरू भने भारत र चीनबीच अवस्थित नेपाल भूराजनीतिक कारणले अमेरिकी ‘रडार’ मा परिरहने भए पनि दुईपक्षीय सम्बन्धमा धेरै फेरबदल देखा नपर्ने आकलन गरिरहेका छन्।