१ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले बुधबार जिल्ला सदरमुकाम जलेश्वरमा सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड मेटाएको र झन्डा जलाएका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका राजपाले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।
मधेस बन्द गर्दै आन्दोलनमा उत्रेका राजपा नेपालका ५०-६० जना कार्यकर्ता जलेश्वर नगरपालिका–२ खैराचौकस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा गएर तोडफोड गर्दै पार्टीको बोर्ड कालो रङ्गले मेटिदिएका छन् भने पार्टी कार्यालयमाथि रहेको पार्टीको झन्डा उतारेर जलाइदिएका छन् ।
राजपा नेपालका कार्यकर्ताले उपेन्द्र यादवलाई मधेस विरोधी रहेको तथा मधेसीको भावनासँग खेलबाड गर्दै मधेस र मधेसीको हित विपरीत स्थानीय तहको चुनावमा भाग लिन लागेको भन्दै उहाँको पार्टीको साइनबोर्ड मेटिएको तथा झन्डा जलाइएको आन्दोलनरत राजपा नेपाल महोत्तरीका नेता सुदीप झाले बताउनुभयो ।