ई–आर्थिक, विराटनगर । नेपालको पूर्वी जिल्लाहरुमा सबैभन्दा बढी चल्ने कोशी ग्यास उद्योगले उपभोक्तालाई ठगेको तथ्य बाहिरिएको छ । उद्योगले बजारमा पठाएको चार वटा सिलिण्डरमा तौल कैफियत भेटिएको हो । मोरङको बुढीगंगास्थित उद्योगबाट बिक्रीका लागि विराटनगर–३ बुद्धचौकमा ल्याइएको सिलिण्डरमा ४ केजीसम्म कम ग्यास भेटिएको छ । विराटनगर ३ स्थित किशोर चापागाँईले खरिद गर्ने क्रममा कम तौल भएको आशंका लागेर वजन लिएका थियो ।
जिल्ला प्रहरी कार्यालयलाई उजुरी गरेपछि सिलिण्डरको वजन लिइएको थियो । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलिले खुद तौल जाँच गरेको थियो । सिल प्याकमा रहेको उक्त सिलिण्डरमा तौल कम भेटिएपछि कोशी ग्यासको ठगी धन्दा बाहिरिएको हो । उपभोक्तासम्म आईपुगेका ग्यासको खुद तौल १०,७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.७६५ केजी भेटिएको हो । चारवटा सिलिण्डरको कुल तौल क्रमशः २६.४०, २५.०४५, २४.१०० र २९.०६५ रहेको भेटिएको छ । ग्यासको टैर तौल भने १५.३ हुनपर्नेछ ।
कम्पनीको सिल लागेको अवस्थाका एनएस ३८९–२०५३ एलपीजी ए ३४, एनएस–३६९–२०५३ बी ३३, सिरियल नम्बर ८१३९७९१ बी ३३ र एनएस–३६९–२०५३ डी २८ नम्बरका सिलिण्डर रहेका छन् ।उपभोक्ताले प्रहरीमा खबर गरेपछि ग्यास बिक्री गर्दै हिड्ने राजकुमार मण्डल र उद्योगका प्रतिनिधि विपिन मण्डललाई समेत रोहबरमा राखेर मुचुल्का उठाएको छ । प्रहरीले ग्यास बिक्री गर्दै हिड्ने मण्डललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।