काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ई–ट्याग (विद्युतीय टोल भुक्तानी) सेवा सञ्चालनमा ल्याएको छ।
यस सेवाअन्तर्गत सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय स्टिकर (आरएफआईडी ट्याग) को माध्यमबाट टोल शुल्क भुक्तानी गर्न सकिनेछ। ट्याग जडान भएका सवारीसाधनले टोल बुथमा नरोकी तोकिएको ई–ट्याग लेनबाट आवतजावत गर्न सक्नेछन्। यसबाट टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हट्नुका साथै समय र इन्धनको बचत हुने तथा यात्रा थप सहज र नगदरहित बन्ने बैंकले जनाएको छ।
अनलाइनबाट दर्ता, बैंक शाखाबाट ट्याग प्राप्त गर्न सकिने
ग्राहकले सडक बोर्ड नेपालको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन दिएर नजिकैको सिद्धार्थ बैंक शाखाबाट ई–ट्याग प्राप्त गर्न र सक्रिय गर्न सक्नेछन्।
यसका लागि सर्वप्रथम सडक बोर्ड नेपालको पोर्टलमा गएर ‘साइन अप’ विकल्पमार्फत व्यक्तिगत वा संस्थागत खाता छनोट गर्नुपर्नेछ। त्यसपछि मोबाइल नम्बर र इमेल ठेगाना राखी इमेलमा प्राप्त प्रमाणीकरण कोड प्रविष्ट गरेर पासवर्ड बनाउनुपर्नेछ।
व्यक्तिगत दर्ताका लागि नाम, ठेगाना, सम्पर्क विवरण तथा नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानीमध्ये कुनै एक आधिकारिक परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। त्यसैगरी, संस्थागत दर्ताका लागि संस्थाको नाम, ठेगाना, सम्पर्क विवरण, आधिकारिक प्रतिनिधिको विवरण तथा संस्था दर्ता, प्यान र भ्याट प्रमाणपत्र अपलोड गर्नुपर्नेछ।
खाता दर्तापछि पोर्टलमा लगइन गरी ‘भेहिकल रजिस्ट्रेसन’ विकल्पमा गएर आवश्यक सवारी विवरण र ब्लुबुकको प्रतिलिपि अपलोड गरी आवेदन पेस गर्नुपर्नेछ। आवेदनपछि प्राप्त दर्ता नम्बर सहितको कागजात डाउनलोड गरी आवश्यक सक्कल तथा प्रतिलिपि कागजातसहित नजिकैको सिद्धार्थ बैंक शाखामा सम्पर्क गर्नुपर्नेछ।
बैंकले कागजात रुजु गरी सम्बन्धित सवारी नम्बरमा ई–ट्याग आबद्ध गरेपछि ग्राहकलाई भौतिक स्टिकर उपलब्ध गराउनेछ। त्यसपछि पुनः पोर्टलमा लगइन गरी ‘एक्टिभेट ट्याग’ विकल्पमार्फत ट्याग सक्रिय गर्नुपर्नेछ। सक्रिय गरिएको स्टिकर सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्नेछ।
मोबाइल बैंकिङबाटै रिचार्ज सुविधा
ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवामार्फत घरमै बसेर ई–ट्याग रिचार्ज गर्न सक्नेछन्। साथै, सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट ट्यागमा रहेको मौज्दात र कारोबार विवरणसमेत हेर्न सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार एउटा ई–ट्याग एउटा निश्चित सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ। टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त मौज्दात रहेको सुनिश्चित गर्नुपर्नेछ।
यस सेवाले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्नुका साथै आगामी दिनमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोल संकलन (ईटीसी) युक्त राजमार्गहरूमा यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सेवासम्बन्धी थप जानकारी वा सहयोगका लागि ग्राहकले सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय, २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र वा बैंकको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।