गरिमा विकास बैंकको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ।
बैंकले मंसिर ७ गते आफ्नो केन्द्रीय कार्यालय रहेको काठमाडौँको बालुवाटारसहित देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
बैंकका अनुसार सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।
रक्तदान कार्यक्रमबाट संकलित रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ। एक कार्यक्रमबीच उत्कृष्ट शाखाका प्रमुखहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ।
यसैगरी, बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित मंसिर ५ गते ‘गरिमा रोड रेस २०२६’ को तेस्रो संस्करण आयोजना गरेको थियो। काठमाडौँमा सम्पन्न उक्त प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए।
स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा रक्तदान तथा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले आफ्नो यात्रामा निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार जगत्, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।