शिमला । भारतको हिमाचल प्रदेशस्थित शिमलामा गान्धी परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक तथा भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनौतविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ।
शिमला निवासी क्याप्टेन अतुल शर्माले दिएको उजुरीका आधारमा प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) का धारा १९६, ३५३ र ३५६ अन्तर्गत मुद्दा दर्ता गरेको हो।
उजुरीकर्ता शर्माका अनुसार कंगनाले नोभेम्बर १० मा आफ्नो प्रमाणित सामाजिक सञ्जाल खाताबाट गान्धी परिवारलाई लक्षित गर्दै विभिन्न विवादास्पद पोस्ट गरेकी थिइन्।
कंगनाले आफ्ना पोस्टमा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी, सञ्जय गान्धी र राजीव गान्धीको मृत्युका घटनामाथि प्रश्न उठाएकी थिइन्। उनले सोनिया गान्धीलाई ‘रहस्यमय विदेशी नागरिक’ भन्दै गान्धी परिवारका सदस्यहरूको मृत्युपछि उनी राजनीतिक रूपमा अगाडि बढेको आशय व्यक्त गरेकी थिइन्। पोस्टको अन्त्यमा उनले ‘कति सुविधाजनक!’ समेत लेखेकी थिइन्।
त्यसैगरी, कंगनाले सञ्जय गान्धीको मृत्युपछि उनकी पत्नी मेनका गान्धीलाई परिवारको घरबाट निकालिएको घटनाबारे पनि प्रश्न उठाएकी थिइन्। उनले गान्धी परिवारभित्रका विभिन्न घटनालाई जोड्दै सोनिया गान्धीको भूमिकामाथि टिप्पणी गरेकी थिइन्।
उजुरीकर्ता शर्माले कंगनाका यस्ता अभिव्यक्तिले समाजमा वैमनस्य फैलाउन सक्ने र सामाजिक तथा राजनीतिक वातावरण बिगार्न सक्ने दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रकाशित पोस्टहरूको साइबर फरेन्सिक परीक्षण गरी दोषी देखिए आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।
उजुरीपछि शिमला प्रहरीले एफआईआर दर्ता गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीले विवादित पोस्ट र उजुरीमा उल्लेख गरिएका आरोपहरूको जाँच गरिरहेको जनाएको छ।
यस विषयमा कंगना रनौतको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।