मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै राजस्व सङ्कलनको वार्षिक लक्ष्य पार गरेको छ। कार्यालयले साउनदेखि कात्तिक १३ गतेसम्म ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि नौ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर, आर्थिक वर्षको साढे तीन महिना नबित्दै लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको हो।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार उक्त अवधिमा कोरलानाका हुँदै २६ अर्ब एक करोड २३ लाख रुपैयाँ मूल्यबराबरका मालवस्तु नेपाल आयात भएका छन्। सोही अवधिमा नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ मूल्यबराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्।
यस अवधिमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ। ती सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ प्रस्थान गरिसकेको सिंहले जानकारी दिए।
दसैँपछि कोरलानाकाबाट हुने आयात तथा ईभीको कारोबारमा उल्लेख्य वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा दसैँपछि थप तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो।
त्यस्तै, दसैँअघि कोरलानाका हुँदै १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ मूल्यबराबरका चिनियाँ मालवस्तु नेपाल भित्रिएका थिए। दसैँपछि थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ मूल्यबराबरका सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ।
ईभी आयातमा समेत दसैँपछि तीव्र वृद्धि देखिएको छ। साउनदेखि असोज २७ गतेसम्म तीन हजार ९२६ वटा विद्युतीय सवारीसाधन आयात भएकामा दसैँपछिको १५ दिनमै थप दुई हजार ५७५ वटा ईभीको भन्सार जाँचपास भएको सिंहले बताए।
रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट हुने व्यापारिक कारोबार बढेको भन्सार कार्यालयको भनाइ छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका सामान कोरलानाका हुँदै नेपाल भित्रिएका हुन्।
रसुवागढी र तातोपानी नाका सञ्चालनमा अवरोध भएपछि कोरलानाका नेपाल–चीन व्यापारको महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित हुँदै गएको छ। यस नाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन्।
गत आर्थिक वर्ष मुस्ताङ भन्सार कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। नेपाल–चीन उत्तरी कोरलानाका सरकारले गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।