२०८३ कार्तिक २ आइतबार

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सिन्धुलीमा जिप सुनकोशीमा खस्दा ३ जनाको मृत्यु, ४ घाइते, ३ बेपत्ता

ई आर्थिक    आइतबार, कार्तिक २ २०८३
931
Shares
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सिन्धुलीमा जिप सुनकोशीमा खस्दा ३ जनाको मृत्यु, ४ घाइते, ३ बेपत्ता

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा थप तीन जना बेपत्ता भएका छन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेर सुनकोशी नदीमा पुगेको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।

तीन जना बेपत्ता, खोजीका लागि गोताखोर परिचालन

जिप चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना यात्रु बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली खोजीमा खटिएको छ ।

संयुक्त सुरक्षा टोलीले सुनकोशी नदीमा बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij