सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४, ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार ज्ञानोदय टोलस्थित हनुमान मन्दिरनजिक बुलबुल यादवको घरमा आज बिहान खानतलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुका साथै घटनास्थलबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।