काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका समयमा हुन सक्ने विद्युतीय वित्तीय ठगी नियन्त्रण गर्न भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्तिको विवरण नेपाल प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा सार्वजनिक बिदाका समयमा हुन सक्ने साइबर फ्रड तथा स्क्यामका घटनाको अनुसन्धानलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।
विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनामा कारोबार विवरण समयमै उपलब्ध गराउन तथा शंकास्पद वालेट र कारोबार पहिचान गरी तत्काल रोक्का गर्ने प्रक्रियालाई सहजीकरण गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।
सूचनाअनुसार सम्बन्धित संस्थाहरूले जिम्मेवार सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर तथा २४ सै घण्टा उपलब्ध हुने ड्युटी वा अनकल इमेलको विवरण नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोलाई उपलब्ध गराउनुपर्नेछ।
पर्व तथा सार्वजनिक बिदाका समयमा विद्युतीय वित्तीय ठगीका घटना भएमा तत्काल समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।