२०८३ असोज २७ मंगलबार

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

ई आर्थिक    मंगलबार, असोज २७ २०८३
152
Shares
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

काठमाडौं ।  सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ।

संशोधित व्यवस्थाअनुसार अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी साधनको दर्ता तथा नामसारी गर्न सकिने भएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सरल, सहज तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिकामा संशोधन गरिएको हो।

संशोधित व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेका सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने व्यवस्था हटाइएको छ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि सवारी दर्ता तथा नामसारीको काम गर्न सकिनेछ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो तथा खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।

नयाँ व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई समेत सहज बनाएको छ। अब बीमा वा बीमा नवीकरणका लागि सवारीधनी स्वयं उपस्थित हुनुपर्ने छैन।

यसैगरी, सवारी साधन नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण संकलन गर्न यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ।

निर्देशिकामा गरिएको संशोधनले सवारी दर्ता तथा नामसारीका लागि सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्नुका साथै समय र श्रमको बचत हुने अपेक्षा मन्त्रालयले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij