काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। एक महिलालाई धम्की दिएको र ब्ल्याकमेलिङ गरेको आरोपसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि पार्टीले यस्तो कदम चालेको हो।
रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन्।
पार्टीले छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउन तथा अनुसन्धान प्रभावित हुन नदिन सुनारलाई अनुसन्धानको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ।’
त्यस्तै, अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले स्पष्ट पारेको छ।
अडियो सार्वजनिक भएपछि उत्पन्न विवादका बीच रास्वपाले आन्तरिक छानबिन प्रक्रिया अघि बढाउँदै सुनारको सार्वजनिक गतिविधिमा रोक लगाएको हो। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा पार्टीले थप निर्णय लिन सक्नेछ।