२०८३ असोज २५ आइतबार

दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा पावर बैंक विस्फोट, हैदराबादमा आपतकालीन अवतरण

ई आर्थिक    आइतबार, असोज २५ २०८३
247
Shares
दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा पावर बैंक विस्फोट, हैदराबादमा आपतकालीन अवतरण

काठमाडौं । भारतको राजधानी दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोट हुँदा आगलागी भएको छ। घटनापछि विमानलाई भारतको हैदराबाद विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ।

दैनिक भास्करका अनुसार विमानभित्र धुवाँ देखिएपछि यात्रुहरूले चालक दललाई जानकारी गराएका थिए। त्यसलगत्तै क्याबिन क्रूले आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो भने पाइलटहरूले विमानलाई हैदराबादतर्फ मोडेका थिए।

इन्डिगोले घटनापछि यात्रुहरूलाई सुरक्षित रूपमा चेन्नई पुर्‍याउन अर्को उडानको व्यवस्था गरिएको जनाएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा यात्रुहरू ‘आगो, आगो!’ भन्दै चिच्याइरहेको र विमानको माथिल्लो भागमा रहेको सामान राख्ने ठाउँबाट झोला निकालिरहेको देखिन्छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार पावर बैंक र अतिरिक्त लिथियम ब्याट्री हाते सामानमा मात्र राख्न पाइन्छ। उडानका क्रममा पावर बैंक प्रयोग गरी अन्य विद्युतीय उपकरण चार्ज नगर्न पनि डीजीसीएले सिफारिस गरेको छ।

लिथियम ब्याट्रीमा खराबी आउँदा अत्यधिक ताप उत्पन्न भई आगलागी हुन सक्ने भएकाले पावर बैंक तथा यस्ता ब्याट्री प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

यसअघि सन् २०२६ को मे महिनामा पनि हैदराबादबाट चण्डीगढ जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोट भएको थियो। उक्त घटनामा पाँच जना घाइते भएका थिए। विमानभित्र धुवाँ फैलिएपछि यात्रुहरूलाई आपतकालीन ढोकाबाट बाहिर निकालिएको थियो।

विमानमा पावर बैंक तथा लिथियम ब्याट्रीका कारण आगलागी हुने घटनाले हवाई यात्राका क्रममा विद्युतीय उपकरणको सुरक्षित प्रयोग र सुरक्षासम्बन्धी नियम पालना गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij