काठमाडौं । त्रिशूली नदीको कटानका कारण सडक भासिएर पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आइतबार साँझदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सडक विभागले अवरुद्ध सडक खुलाउन भित्तापट्टिको भाग काटेर सडक चौडा बनाउने कामलाई तीव्रता दिएको छ ।
सडक विभागका अनुसार आइतबार राति ९ बजेदेखि भए पनि एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । विभागले आइतबार बिहान ७ बजेदेखि पुनः भित्ता काट्ने काम सुरु गरी सडक विस्तार गर्ने योजना बनाएको छ ।
सडक विस्तारको काम निर्धारित समयमै सम्पन्न भए आइतबार साँझ ६ बजेदेखि नै राजमार्गमा दुईतर्फी सवारी आवागमन सुचारु गर्ने विभागको तयारी छ ।
त्रिशूली नदीले सडकको भाग कटान गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको र सडक खुलाउन भित्तापट्टिको भाग काटेर वैकल्पिक रूपमा सडक चौडा बनाउने काम अघि बढाइएको हो ।
राजमार्गको अवस्था अझै संवेदनशील रहेकाले यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यात्रा सुरु गर्नुअघि ट्राफिक प्रहरीसँग सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न विभागले अनुरोध गरेको छ ।