२०८३ असोज २६ सोमबार

नेपाल टेलिकमको दसैं–तिहार अफर २०८३ सार्वजनिक, इन्टरनेट जडान शुल्कदेखि मोबाइल प्याकेजसम्म छुट

ई आर्थिक    शनिबार, असोज २४ २०८३
380
Shares
नेपाल टेलिकमको दसैं–तिहार अफर २०८३ सार्वजनिक, इन्टरनेट जडान शुल्कदेखि मोबाइल प्याकेजसम्म छुट

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैं–तिहार अफर २०८३’ ल्याउने भएको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा जीएसएम प्रिपेड र पोस्टपेड मोबाइल सेवामा सहुलियत दरका भ्वाइस, डाटा र एसएमएस प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कबापत लाग्ने ५०० रुपैयाँ छुट पाउनेछन्। यो सुविधा असोज २५ देखि कार्तिक ३० गतेसम्म नयाँ प्याकेज जडान गर्ने ग्राहकका लागि लागू हुनेछ।

त्यसैगरी, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक एफटीटीएच प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउनेछन्। यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। प्याकेजसँग बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न पाइनेछ।

भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि भने यसअघि नै उपलब्ध गराइएको एक हजार रुपैयाँ छुटसमेत कायम रहनेछ।

मोबाइलमा ४९९ रुपैयाँदेखि अनलिमिटेड डाटा प्याकेज

दसैं–तिहार अफरअन्तर्गत नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि दुई प्रकारका फेस्टिभल डाटा प्याकेज उपलब्ध गराउने भएको छ।

कम्पनीका अनुसार ४९९ रुपैयाँमा पाँच जीबी दैनिक डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज र ६९९ रुपैयाँमा १० जीबी दैनिक डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज खरिद गर्न सकिनेछ।

फेस्टिभल अनलिमिटेड प्याकेजमा दैनिक पाँच जीबी डाटा प्रयोग गरिसकेपछि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन सकिनेछ। त्यस्तै, प्रिमियम प्याकेजमा दैनिक १० जीबी डाटा सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ।

यी दुवै प्याकेजको समयावधि ३० दिनको हुनेछ।

२५० रुपैयाँमा एक हजार मिनेट अल–नेट भ्वाइस

कम्पनीले भ्वाइस तथा एसएमएस सेवामा पनि विशेष प्याकेज ल्याएको छ। अफरअन्तर्गत २५० रुपैयाँमा एक हजार मिनेट अल–नेट भ्वाइस सुविधा भएको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ।

त्यसैगरी, ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधा भएको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ। यी दुवै प्याकेजको समयावधि ३० दिन तोकिएको छ।

मोबाइलबाटै प्याकेज खरिद गर्न सकिने

नेपाल टेलिकमका अनुसार मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले असोज ३० देखि कार्तिक ३० गतेसम्म दसैं–तिहार अफरको सुविधा लिन सक्नेछन्।

ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन्।

चाडपर्वका अवसरमा उपलब्ध गराइने यस्ता अफरले ग्राहकलाई परिवार, आफन्त र साथीभाइसँग सहज रूपमा सम्पर्कमा रहन, खुसी साटासाट गर्न तथा डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij