२०८३ असोज २७ मंगलबार

नेपाली कांग्रेसको उपसभापतिमा डा. भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित (सबैको मतसहित)

ई आर्थिक    सोमबार, असोज २६ २०८३
1.5K
Shares
नेपाली कांग्रेसको उपसभापतिमा डा. भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित (सबैको मतसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला (पन्त) विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार खुला उपसभापतितर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका हुन्। समावेशी उपसभापतिमा विनोद चौधरी विजयी भएका छन्। त्यसैगरी, खुला महामन्त्रीतर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्।

खुला उपसभापतिमा सबैभन्दा बढी ३ हजार ७३५ मत प्राप्त गर्दै भण्डारी विजयी भए। आचार्यले २ हजार ३४२ मत प्राप्त गरे। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।

समावेशी उपसभापतिमा विजयी चौधरीले १ हजार ७४५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए। चौधरी ८७ मतको अन्तरले विजयी भएका हुन्। अन्य उम्मेदवारमध्ये फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।

महामन्त्रीमा प्रदीप पौडेल सर्वाधिक मतसहित विजयी

खुला महामन्त्रीतर्फ प्रदीप पौडेल ४ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका छन्। उपसभापति र महामन्त्री दुवै पदको निर्वाचनमा उनले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

खुला महामन्त्रीका अर्का विजेता उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत पाए । राणा र शर्माबीच ७३ मतको अन्तर रहेको छ ।

खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डिला संग्रौला विजयी

महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ मत प्राप्त गरिन्।

संग्रौला २५४ मतको अन्तरले विजयी भएकी हुन्। अर्की प्रतिस्पर्धी रीता खनालले ८०४ मत प्राप्त गरिन्।

सभापतिमा गगन थापा यसअघि नै निर्वाचित

यसअघि नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्।

त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।

कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको पदाधिकारी संरचनामा समेत परिवर्तन गरेको छ। संशोधित विधानअनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

चार उपसभापतिमध्ये दुई जना खुला प्रतिस्पर्धाबाट, एक जना महिला र एक जना समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, तीन महामन्त्रीमध्ये दुई जना खुला र एक जना महिला समूहबाट निर्वाचित हुनेछन्।

यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार पदाधिकारीको संख्या विस्तार गरिएको हो।

महाधिवेशनले कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत बढाएर २९७ सदस्यीय बनाएको छ। पदाधिकारीतर्फ उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक भइसके पनि सहमहामन्त्री पदको मतगणना भने जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij