२०८३ असोज २३ शुक्रबार

मुस्ताङमा रोकिएका पाँच सयभन्दा बढी कन्टेनर बेनीतर्फ फर्किन थाले

ई आर्थिक    शुक्रबार, असोज २३ २०८३
133
Shares
मुस्ताङमा रोकिएका पाँच सयभन्दा बढी कन्टेनर बेनीतर्फ फर्किन थाले

कालीगण्डकी करिडोरको अवरुद्ध सडक अस्थायी मर्मतपछि सञ्चालनमा आएसँगै दुई सातादेखि मुस्ताङमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका छन्। सडकमा सवारी चाप बढेपछि अत्यावश्यक सेवा र कृषिजन्य उपज ढुवानीलाई प्राथमिकता दिइएको छ।

मुस्ताङ । कालीगण्डकी नदीको कटान तथा बाढीपहिरोले सडक र पक्की पुलको पहुँचमार्गमा क्षति पुर्‍याएपछि मुस्ताङमा रोकिएका सवारीसाधन बेनीतर्फ फर्किन थालेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत कोरला–जोमसोम–बेनी सडकखण्ड अस्थायी मर्मतपछि बिहीबार रातिदेखि हलुका सवारीसाधनका लागि सञ्चालनमा आएपछि रोकिएका मालवाहक कन्टेनरसहित अन्य सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका हुन्।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गरी बगाउँदा कोरला नाकाबाट आएका पाँच सयभन्दा बढी मालवाहक कन्टेनर मुस्ताङमै रोकिएका थिए। सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ, आलुलगायत कृषिजन्य उपज बजारसम्म पुर्‍याउनसमेत समस्या भएको थियो।

कालीगण्डकी करिडोर आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न सकिने भए पनि सडकको सतह सुधार तथा सवारीसाधन सञ्चालनयोग्य बनाउने काम जारी छ। त्यसैले एकैपटक धेरै सवारीसाधनलाई आवतजावत गर्न दिइएको छैन।

शर्माले बाढीले बगाएको पुलको पहुँचमार्ग मर्मतपछि भारवहन क्षमताको परीक्षण गरेर मात्रै सवारीसाधन पार गराइने जानकारी दिए। मुस्ताङमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन अझै दुई दिनसम्म लाग्न सक्ने उनको अनुमान छ।

भन्सार जाँचपासका लागि कन्टेनर आउन थाले

कोरलादेखि मालढुंगासम्मको अवरुद्ध सडक खुल्न थालेपछि नाकामा रोकिएका मालवाहक कन्टेनर मुस्ताङ भन्सार कार्यालयमा जाँचपासका लागि आउन थालेका छन्। सडक खुल्ने सङ्केत देखिएसँगै आयातित सामान बोकेका सवारीसाधनको आवागमन बढेको भन्सार कार्यालयले जनाएको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार सडक सञ्चालनमा आउने अवस्था बनेपछि नाकाबाट सामान आउने क्रम बढेको हो। जाँचपास सम्पन्न भएका अधिकांश कन्टेनर गन्तव्यतर्फ लागिसकेको उनले बताए।

स्याउ र आलु ढुवानीलाई प्राथमिकता

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले सडकको अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म अत्यावश्यक सेवा, आन्तरिक यातायात, मालवाहक कन्टेनर तथा स्याउ र आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिइने बताएका छन्।

उनका अनुसार अन्तरजिल्ला समन्वयमार्फत सडकमा सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको छ। सडकखण्डमा दुवैतर्फबाट सुरक्षाकर्मी परिचालन गरी सवारीसाधनको व्यवस्थापन गरिनेछ।

कोरला नाकाबाट आयातित सामान बोकेका कन्टेनर तथा मुस्ताङका कृषि उपज बोकेका सवारीसाधनलाई घाँसा चेकपोस्टबाट समन्वय गरी गन्तव्यतर्फ पठाइनेछ। सवारीसाधनको जाम हुन नदिन साँघुरा तथा जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरीसहित सुरक्षाकर्मी परिचालन गर्ने विषयमा शुक्रबार बिहान अन्तरजिल्ला अनलाइन बैठकसमेत बसेको थियो।

बेनी–जोमसोम सडकखण्ड बाढीपहिरोको उच्च जोखिममा

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनसँगको सीमावर्ती कोरला नाकासम्म जोडिने बेनी–जोमसोम–कोरला सडक करिब २०२ किलोमिटर लामो छ।

यस सडकखण्डको बेनी–जोमसोम खण्डमा पर्ने करिब २२ किलोमिटर क्षेत्र बाढीपहिरोको उच्च जोखिममा रहेको छ। वर्षायाममा नदी कटान र पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु, स्थानीय बासिन्दा तथा व्यापारिक ढुवानी प्रभावित हुँदै आएको छ।

सडकको अस्थायी मर्मतसँगै सवारीसाधन सञ्चालन हुन थाले पनि जोखिमयुक्त स्थानमा सावधानी अपनाउनुपर्ने र सडकको अवस्था हेरेर मात्रै आवागमन गर्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij