सिन्धुपाल्चोक । चीनले भदौ १५ गतेदेखि एकतर्फी रूपमा बन्द गरेको तातोपानी नाका कहिले खुल्ने भन्ने अझै टुङ्गो लागेको छैन। नाका सञ्चालनमा आउने निश्चित मिति तय नहुँदा आयातका लागि तयारी अवस्थामा रहेका सामान बोकेका कन्टेनर चिनियाँ भूभागमै रोकिएका छन्। यसले व्यापारी तथा व्यवसायीलाई अन्योलमा पारेको छ भने दसैँका लागि आवश्यक वस्तुको आपूर्तिमा समेत समस्या उत्पन्न हुने चिन्ता बढाएको छ।
गत मङ्गलबार नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले तातोपानी नाका, सडक र भौतिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि नाका छिट्टै खुल्ने अपेक्षा गरिए पनि एक साताभन्दा बढी समय बितिसक्दा कुनै ठोस प्रगति नभएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले बताउनुभयो।
नेपाल सरकार र चिनियाँ पक्षका उच्च अधिकारीले नाका तथा त्यहाँको पूर्वाधारको अवस्था निरीक्षण गरेपछि नाका सञ्चालनमा आउने आशा बढेको थियो। तर, नाका खुलाउने विषयमा चिनियाँ पक्षबाट अहिलेसम्म आधिकारिक प्रतिक्रिया नआएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार नाका खुलाउने विषयमा चिनियाँ प्रतिनिधिसँग कूटनीतिक माध्यमबाट निरन्तर संवाद भइरहेको छ। यद्यपि, नाका कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे कुनै निश्चित मिति वा ठोस सन्देश प्राप्त भएको छैन। नाकासँग सम्बन्धित व्यापारी तथा व्यवसायी भने दसैँअघि नै नाका खुल्ने अपेक्षामा छन्।
यसअघि नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भदौको पहिलो साता तातोपानी नाकाको निरीक्षण गर्दै नाका छिट्टै खुल्ने बताउनुभएको थियो। तर, त्यसयता पनि नाका खुल्ने विषयमा ठोस प्रगति देखिएको छैन।
तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले चीनतर्फ रोकिएका मालवस्तु बोकेका कन्टेनर नाका खुलेपछि नेपाल भित्रिने सम्भावना रहेको बताउनुभयो। चिनियाँ पक्ष नाका सञ्चालनमा ल्याउन सकारात्मक देखिएकाले दसैँअघि नै नाका खुल्ने उहाँको अपेक्षा छ।
न्यालम क्षेत्रमा ४५ भन्दा बढी कन्टेनर रोकिए
चिनियाँ पक्षले भदौ १५ गतेदेखि नाका बन्द गरेपछि लिपिङ र कोदारी क्षेत्रमा चीनतर्फ जान तयारी अवस्थामा रहेका कन्टेनर खासा प्रवेश गर्न पाएका छैनन्। त्यस्तै, न्यालम क्षेत्रमा दसैँलाई लक्षित गरी आवश्यक सामान बोकेका ४५ वटाभन्दा बढी कन्टेनर रोकिएका छन्।
चाडपर्वका लागि बजारमा ल्याउनुपर्ने सामान नाकामै रोकिएपछि व्यवसायीलाई समयमै सामान नेपाल भित्र्याउन नसकिने हो कि भन्ने चिन्ता बढेको छ। नाका बन्द हुँदा व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको छ भने मजदुर र यातायात क्षेत्रसमेत प्रभावित भएका छन्।
नाका खुलाउन कूटनीतिक पहल तीव्र पार्न माग
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष कार्कीले दसैँअघि नै तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल सरकारले चिनियाँ पक्षसँग विशेष पहल गर्नुपर्ने बताउनुभएको छ।
नाका बन्द हुँदा व्यवसायीले आर्थिक क्षति बेहोर्नुपरेको र चाडपर्वका लागि आवश्यक सामानको आपूर्तिमा समेत समस्या आउन सक्ने उहाँको भनाइ छ। त्यसैले नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक संवादलाई तीव्रता दिनुपर्ने उहाँले सुझाव दिनुभएको छ।
दसैँ नजिकिँदै गर्दा पनि नाका खुल्ने निश्चित नहुँदा चीनबाट सामान आयात गर्ने व्यवसायी प्रतीक्षामा छन्। नाका कहिले सञ्चालनमा आउँछ र रोकिएका कन्टेनर कहिलेदेखि नेपाल भित्रिन पाउँछन् भन्ने विषय अझै अनिश्चित छ।