ह्याबिट्याट फर ह्युम्यानिटीको अध्ययन : ७२ प्रतिशतलाई चरम मौसमका कारण घरमा सुरक्षित महसुस गर्न कठिन
काठमाडौँ । नेपालमा १० मध्ये सात जनालाई आवाससम्बन्धी खर्च धान्न कठिन हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
ह्याबिट्याट फर ह्युम्यानिटीले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट?’ नामक विश्वव्यापी अध्ययनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आवास खर्च व्यवस्थापन गर्न बारम्बार कठिनाइ हुने बताएका छन्। २२ देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत रहेको छ।
अध्ययनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाता कुनै अप्रत्याशित आर्थिक समस्या आइपरेमा आफू बसिरहेको घर सुरक्षित रूपमा कायम राख्न नसकिने चिन्तामा छन्।
आवास खर्चकै कारण स्वास्थ्य उपचारमा समेत असर परेको पाइएको छ। सर्वेक्षणमा सहभागीमध्ये २८ प्रतिशतले आवाससम्बन्धी आर्थिक दबाबका कारण स्वास्थ्य उपचारमा ढिलाइ गरेको वा उपचार नै नगरेको बताएका छन्। त्यस्तै, ३६ प्रतिशतले आवश्यक घर मर्मतसम्भारसमेत पछि सारेका छन्।
चरम मौसमको जोखिम पनि उच्च
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालकी प्रतिनिधि शची मुल्मीका अनुसार नेपालमा ७२ प्रतिशत उत्तरदाताले चरम मौसमका कारण आफू बसिरहेको ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन्।
आगामी तीन वर्षमा चरम मौसमका घटनाका कारण हाल बसिरहेको ठाउँमा बस्न अझ कठिन हुने अपेक्षा गर्ने नेपाली उत्तरदाताको संख्या पनि ७० प्रतिशत रहेको मुल्मीले जानकारी दिनुभयो।
अध्ययनले आवासको बढ्दो लागतले परिवारको भविष्यका योजनामा समेत प्रभाव पारिरहेको देखाएको छ। ७२ प्रतिशत उत्तरदाताले आवासको लागतका कारण परिवार सुरु गर्न कठिन हुने बताएका छन्।
त्यस्तै, ७३ प्रतिशत अभिभावकले घरको खर्चका कारण आफ्ना छोराछोरीका अवसर सीमित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
नेपालमा १,४०० जनासँग सर्वेक्षण
मुल्मीका अनुसार अध्ययनका क्रममा नेपालमा १ हजार ४ सय जनासँग सर्वेक्षण तथा प्रत्यक्ष अन्तर्वार्ता गरिएको थियो।
विश्वका २२ देशमा गरिएको उक्त अनुसन्धानमा कुल ३० हजार ७५८ जना सहभागी थिए। अध्ययनले आवासको समस्या केवल घरको पहुँचमा सीमित नभई स्वास्थ्य, आर्थिक सुरक्षा, परिवारको योजना र जलवायुजन्य जोखिमसँग समेत प्रत्यक्ष रूपमा जोडिएको देखाएको छ।