नुवाकोट : नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको तयारी तीव्र पारिएको छ। भोटेकोशी नदीमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले पुल जडानको काम अघि बढाएको हो।
नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा बुधबारदेखि बेलिब्रिज जडानको काम सुरु गरिने भएको छ। पुल निर्माणका लागि आवश्यक सामग्री ल्याउने काम भइरहेको र दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बारामा मौज्दात रहेको स्थानबाट ल्याइँदै छ। सबै सामग्री मंगलबारसम्म बेत्रावती आइपुग्ने अपेक्षा गरिएको छ। बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले पुल जडानको काम सुरु गर्ने उनले जानकारी दिए ।
सामान्यतया बेलिब्रिज जडान गर्न तीन दिन लाग्ने भए पनि पुरानो पुलको संरचना होचो भएकाले उचाइ थप गर्नुपर्ने भएको छ। पुलको संरचनामा थप दुई मिटर उचाइ बढाइएको र त्यसलाई सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताए ।
यसअघि भोटेकोशी नदीमा आएको बाढीले बेत्रावतीस्थित पुलको संरचनामा क्षति पुर्याएको थियो। सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा दुई मिटर उचाइ थप गरिएको हो। निर्माण गर्न लागिएको पुल ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ। उक्त पुलको भारवहन क्षमता ६० टन रहने बताइएको छ ।
बेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएसँगै निर्माण कार्यले गति लिएको हो। सडक सञ्चालनमा आउनुअघि नै नेपाली सेनाले वैकल्पिक मार्ग प्रयोग गरी घटनास्थलमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन तथा पुरानो संरचनाको उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।
भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त आगिटार–बेत्रावती सडकखण्ड पनि शनिबारदेखि सञ्चालनमा आएको छ। दसैँअघि नै बेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
बाढीका कारण नुवाकोट–रसुवा सडक सम्पर्क अवरुद्ध हुँदा रसुवाको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। पुल सञ्चालनमा आएपछि जिल्लाबीचको सडक सम्पर्क पुनःस्थापित हुनुका साथै स्थानीय बासिन्दा र यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।