मुक्तिनाथ (मुस्ताङ) । बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ।
सडकमार्ग अवरुद्ध भएपछि पोखराबाट मुस्ताङ जाने र मुस्ताङबाट बाहिरिने हवाई मार्ग एकमात्र विकल्प बनेसँगै निजी वायुसेवा कम्पनीहरूले उडान संख्या दोब्बरभन्दा बढी बढाएका छन्।
जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माका अनुसार अहिले दैनिक सातवटासम्म उडान भइरहेको छ। यसअघि सडक सञ्जाल नियमित हुँदा पोखरा–जोमसोम मार्गमा दैनिक बढीमा पाँचवटा उडान हुने गरेको थियो।
“सडक बन्द भएपछि हवाई उडानमा चाप बढेको छ। अहिले दैनिक सात उडान भइरहेको छ,” विमानस्थल प्रमुख शर्माले भन्नुभयो।
असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो। वर्षाका कारण दृश्य क्षमता कम हुँदा तीन दिनसम्म उडान प्रभावित भए पनि अहिले तारा एयर र समिट एयरले नियमित उडान सञ्चालन गरिरहेका छन्।
हवाई मार्गबाट दैनिक दुई सयभन्दा बढी यात्रु
सडकमार्ग अवरुद्ध भएपछि यसपटक नेपाली पर्यटकले समेत हवाई मार्ग प्रयोग गर्न थालेका छन्। विशेषगरी सोह्रश्राद्धका बेला पितृतर्पणका लागि मुस्ताङ आउने नेपाली यात्रुले हवाई मार्ग रोजेका छन्।
विगतमा सडकमार्ग हुँदै मुस्ताङ आउने नेपाली पर्यटकको संख्या ठूलो हुने गरेको थियो भने हवाई मार्गबाट भारतीय तथा तेस्रो मुलुकका पर्यटक बढी आउने गरेका थिए। अहिले सडक अवरुद्ध भएकाले हवाई मार्गबाट दैनिक दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।
मुक्तिनाथ दर्शनका लागि हेलिकोप्टर चार्टर
हिन्दू तथा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि विभिन्न कम्पनीले हेलिकोप्टर चार्टर गरेर तीर्थयात्रीलाई मुस्ताङ पुर्याइरहेका छन्।
सडक अवरुद्ध भएपछि हवाई उडानले मुस्ताङमा केही राहत पुर्याए पनि पर्यटकीय चहलपहल भने अपेक्षाअनुसार बढ्न सकेको छैन। अहिले आपत्कालीन तथा चार्टर उडान, नियमित हवाई उडान र पदमार्ग हुँदै आउने पर्यटक मात्र मुस्ताङमा देखिन्छन्।
बिहान ११ बजेसम्म मात्र उडान
जोमसोममा वायुसेवा कम्पनीहरूले ट्विनअटर विमानमार्फत यात्रु ओसारपसार गर्दै आएका छन्। मुस्ताङमा हावाहुरीको जोखिम तथा मौसम प्रतिकूल हुने भएकाले पोखरा–जोमसोम उडान सामान्यतया बिहान ११ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ।
ट्विनअटर विमानमा एकपटकमा १८ जना यात्रु यात्रा गर्न सक्ने क्षमता रहेको छ।
छोटो समयका लागि मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले हवाई मार्गलाई प्राथमिकता दिने गरेका छन्। बेनी–जोमसोम सडकबाहेक पोखरा जाने अर्को सहज वैकल्पिक सडक नभएकाले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई यात्रा यात्रुका लागि बाध्यता बनेको छ।
सेनाबाट पनि चार्टर तथा सामग्री ढुवानी
निजी वायुसेवा कम्पनीबाहेक नेपाली सेनाले समेत मुस्ताङमा सामग्री ढुवानी तथा चार्टर उडान गर्दै आएको छ।
मुस्ताङका धार्मिकस्थल भ्रमणका लागि हेलिकोप्टरबाट आउने पर्यटकसँग अनिवार्य रूपमा सुरक्षा निकायका एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
पोखरा–जोमसोम हवाई सेवा वर्षायाम र जाडोयाममा प्रभावित हुने गरेको छ। मौसमका कारण वर्षमा करिब छ महिना मात्र यस हवाई मार्गमा नियमित उडान सञ्चालन हुने गरेको विमानस्थलले जनाएको छ।