२०८३ असोज १७ शनिबार

हावा पश्चिमबाट पूर्व बहन सुरु गर्‍यो, अब कहिले र कसरी बाहिरिन्छ मनसुन ?

ई आर्थिक    शनिबार, असोज १७ २०८३
285
Shares
हावा पश्चिमबाट पूर्व बहन सुरु गर्‍यो, अब कहिले र कसरी बाहिरिन्छ मनसुन ?

काठमाडौं । लगातार तीन दिन वर्षा भएको एक साता पूरा भएसँगै नेपालबाट मनसुन निष्क्रिय हुने ‘अधिकांश मापदण्ड पूरा भएको’ अधिकारीहरूले बताएका छन्।

नेपालमा सरदर २ अक्टोबरमा मनसुनी प्रणाली बाहिरिने गरेको छ। गत वर्ष १० अक्टोबरसम्म रहेको मनसुन यो वर्ष ठ्याक्कै कहिलेसम्म सक्रिय रहन्छ भनेर घोषणा हुन बाँकी छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले मौसमी प्रणालीहरूसँगै हावामा जलवाष्पको अवस्था, पश्चिमी वायुको प्रभावको निगरानी तथा विश्लेषण भइरहेको र आगामी साता मनसुन अन्त्य हुने दिनको औपचारिक घोषणा हुने जानकारी दिइन् ।

“हाम्रो वायुमण्डलमा जलवाष्प अलिअलि बाँकी रहेका कारण निगरानी गरिरहेका छौँ,” उनले भनिन्।

भारतीय मौसम विभागले नेपालको पूर्वी क्षेत्रमा १० अक्टोबरबाट मनसुन निष्क्रिय हुने प्रारम्भिक पूर्वानुमान गरेको छ। दक्षिण र पूर्वी भारतमा भने मनसुन १५ अक्टोबरसम्म कायम रहने प्रारम्भिक पूर्वानुमान सार्वजनिक गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देल नेपालमा बिस्तारै पश्चिमी वायुको प्रभाव बलियो देखिन थालेको बताउँछन्।

“अहिले भारतको दिल्लीसम्म मनसुन निष्क्रिय भइसकेको छ। पूर्वबाट पश्चिमतर्फ आउने वायु कमजोर र पश्चिमबाट पूर्वतर्फ आउने बलियो हुँदै गएको छ। पूर्वमा तत्काल कुनै नयाँ मौसमी प्रणाली विकसित हुने सङ्केत पनि देखिँदैन,” सिग्देलले बीबीसी न्यूज नेपालीसँग भने।

“अब [मनसुन बाहिरिनेबारे] करिब सबै मापदण्ड पूरा हुन थालिसक्यो। विभागले घोषणा गर्न बाँकी होला।”

मनसुनको अन्त्यका सङ्केत के हुन्

वर्षा कम हुनु मनसुन अन्त्यको सबैले अनुमान गर्न सक्ने सङ्केत हो। तर जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका मौसमविद् अशोक बखरेल नेपालको मनसुनमा वायुमण्डलको आर्द्रता, हावाको दिशासँगै दिन र रातबीचको तापक्रमको अन्तरको पनि सम्बन्ध रहेको बताउँछन्।

“हाम्रोमा आर्द्रता घट्दै जान्छ। त्यो एउटा भागबाट नेपालको पूर्वतर्फ सर्दै जान्छ। सँगसँगै हावाको दिशा नै परिवर्तन हुँदै जान्छ। मनसुनमा पूर्वबाट पश्चिमतर्फ हावा बहने प्रणाली छ भने अब चाहिँ पश्चिमबाट पूर्वतर्फ हावा फर्किन थाल्छ,” बखरेलले भने।

नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगबाट निष्क्रिय बन्ने गरेको छ।

बङ्गालको खाडीमा उत्पन्न हुने जलवाष्पयुक्त वायुले नजिकै रहेको नेपालमा मनसुन याममा प्रशस्त वर्षा निम्त्याउँछ।

तर हिउँदमा बङ्गालको खाडीमा जलवाष्प बन्ने प्रक्रिया कमजोर बन्ने र त्यहाँबाट आउने हावाभन्दा भूमध्य सागर, क्यास्पिअन सागर तथा अरब सागरतर्फबाट आउने हावा प्रभावशाली बन्दा नेपालमा पानी कम पर्ने मौसमविद्हरू बताउँछन्।

“कुनै पनि जलवायु प्रणालीका लागि सूर्य प्रमुख सूचक हो। सूर्यको तापमान बढ्ने र घट्ने हुँदा वा दिन छोटो र लामो हुँदा त्यो वाष्पीकरणसँग जोडिन्छ। अब दिन छोटा हुनेबित्तिकै समुद्रबाट बाफ कम हुन्छ,” सहप्राध्यापक सिग्देल भन्छन्।

“मनसुन सकिन पश्चिमी वायुले मात्रै धकेलेर पुगेन। बङ्गालको खाडीबाट आउने जलवाष्प पनि कमजोर हुनु पर्‍यो।”

तर नेपालमा मनसुन बाहिरिएलगत्तै पश्चिमतर्फ रहेका सागरहरूबाट आउने पश्चिमी वायु नेपालमा धेरै प्रभावशाली भइहाल्दैन।

“नेपालमा डिसेम्बरबाट मात्रै पश्चिमी वायु सक्रिय हुन्छ। त्यसलाई हामी हिउँद मास भन्छौँ। अक्टोबर र नोभेम्बरलाई हामी ‘पोस्टमनसुन’ पनि भन्छौँ। यो बेला बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावा कमजोर भए पनि पश्चिमी वायु धेरै सक्रिय भइसकेको हुँदैन,” सहप्राध्यापक सिग्देल भन्छन्।

मौसमविद् बखरेलका अनुसार मनसुन अन्त्य हुँदा दिउँसोको र रातिको तापक्रमबीचको अन्तर पनि घट्दै जान्छ।

“मनसुनका बेला राति चिसो भएको बेला र दिउँसो तातो भएको समयको तापक्रमबीच ठूलो अन्तर देखिँदैन। तर अब त्यसको अन्तर बढ्न थाल्छ,” उनले भने।

पश्चिमी वायुले किन कम वर्षा गराउँछ

ला निन्या र एल निन्यो

पश्चिमी क्षेत्रका समुद्रहरूबाट आउने वायु नेपालसम्म आइपुग्दा त्यो चिसो बनिसक्ने र चिसो हावाले थोरै बाफ बोक्ने मौसमविद्हरू बताउँछन्।

“मनसुन अन्त्य हुने बेलातिर अलि सुक्खा हावा आउँछ। अलि टाढाबाट आउने भएका कारण जलवाष्प यहीँसम्म आइपुग्दैन। जब यहाँ अरू मौसमी प्रणालीहरू बन्दैनन्, तबसम्म यहाँ पानी पर्न घट्छ,” मौसमविद् अशोक बखरेल बताउँछन्।

“हामी बङ्गालको खाडी नजिक भएका कारण मनसुनमा पानी पर्ने हो। यदि हामी अरब सागरको नजिक हुन्थ्यौँ भने हाम्रोमा चिसोमा धेरै पानी पर्थ्यो।”

तर पश्चिमी सागरहरूबाट आएको हावाले बिस्तारै अलिअलि जलवाष्प जम्मा गर्दै जाने र विकसित हुने मौसमी प्रणालीहरूले हिउँदमा पनि नेपालमा वर्षा हुने गरेको छ।

गत वर्ष हिले दशैँ सामना गरेको नेपालले यो वर्ष घमाइलो दशैँ मनाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन्।

यो वर्ष विगत छ वर्षयताकै ढिलो १९ जुनमा मात्रै मनसुन भित्रिएको थियो।

प्रशान्त महासागरमा विकसित भएको एल निन्यो प्रणालीका कारण कम वर्षा हुने ठानिएको मनसुनमा भएको औसत वर्षाको मापन हुन बाँकी नै रहेको विभागले जनाएको छ।

सामान्यतया मनसुन सक्रिय हुँदा १,५००-१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ।

नेपालमा मनसुन भित्रिने र बाहिरिने अवधि एकैनासको देखिँदैन।

कुनै वर्ष मनसुनको अवधि छोटो भएको तथ्याङ्कले देखाउँछ। सन् १९७९ मा २४ जुनमा भित्रिएको मनसुन ७३ दिनपछि ४ सेप्टेम्बरमै बाहिरिएको थियो भने सन् २०२२ मा ५ जुनमा भित्रिएको मनसुन १३४ दिनपछि १६ अक्टोबरमा बाहिरिएको थियो।

नेपालमा मनसुन अन्त्य हुने समयमा यो वर्ष बङ्गालको खाडीमा विकसित भएको प्रणालीले देशैभरि केही दिन वर्षा गराएको समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij