२०८३ असोज १३ मंगलबार

नेशनल मेडिकल कलेजमा आवासीय चिकित्सकको प्रदर्शन, पहिलो वर्षकालाई प्रवेशमा रोक

ई आर्थिक    आइतबार, असोज ११ २०८३
304
Shares
नेशनल मेडिकल कलेजमा आवासीय चिकित्सकको प्रदर्शन, पहिलो वर्षकालाई प्रवेशमा रोक

काठमाडौं : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रवेशद्वारमा स्नातकोत्तर आवासीय चिकित्सकहरूले आइतबार बिहानदेखि प्रदर्शन गरिरहेका छन्। विभिन्न छबुँदे माग राख्दै आन्दोलनरत चिकित्सकहरूले बिहान १० बजेदेखि अस्पताल परिसरबाहिर प्रदर्शन थालेका हुन्।

प्रदर्शनका क्रममा चिकित्सकहरूले ‘दादागिरी बन्द गर’, ‘पैसा लुट्न पाइँदैन’, ‘तानाशाही चल्दैन’, ‘सहमति कार्यान्वयन गर’ र ‘गलत निर्णय फिर्ता गर’लगायतका नारा लगाएका छन्।

आन्दोलनरत चिकित्सकका अनुसार अस्पतालले स्नातकोत्तर आवासीय चिकित्सकमध्ये प्रथम वर्षका चिकित्सकलाई अस्पताल प्रवेशमा रोक लगाएपछि उनीहरू प्रवेशद्वारमै धर्ना तथा प्रदर्शन गर्न बाध्य भएका हुन्।

चिकित्सकहरूले गत भदौ ३१ गतेदेखि विभिन्न छबुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन्। उनीहरूले आफ्ना माग सम्बोधन गर्न अस्पताल प्रशासनसँग पटक–पटक आग्रह गरे पनि समस्या समाधान नभएको बताएका छन्।

आन्दोलनरत चिकित्सकमध्येकी डा. निसा महर्जनका अनुसार असोज २ गते अस्पताल प्रशासनले चिकित्सकहरूलाई प्रधानाचार्यको कार्यकक्षमा बोलाएर मागहरू लिखित रूपमा हस्ताक्षर गरी बुझाउन भनेको थियो।

‘हामीले अस्पताल प्रशासनले भनेअनुसार मागहरू लिखित रूपमा हस्ताक्षर गरेर बुझायौँ। तर माग पूरा गर्नुको सट्टा चिकित्सकहरूसँग सहमति भएको भन्दै त्यसको दुरुपयोग गर्न खोजिएको छ,’ उनले भनिन्।

महर्जनले चिकित्सकहरूले हस्ताक्षरसहित बुझाएको मागपत्रलाई माथिल्लो निकायमा पठाएर अस्पताल प्रशासनले आन्दोलन कमजोर पार्न खोजेको आरोपसमेत लगाइन्।

यसैबीच, असोज ८ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई अस्पतालबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयलाई पत्र पठाएको थियो।

अस्पतालले आन्दोलनरत चिकित्सकहरूलाई भारी वर्षाका बीच १२ घण्टाभित्र छात्रावास खाली गर्न सूचनासमेत जारी गरेको उनीहरूको भनाइ छ।

अस्पताल प्रशासनबाट माग सम्बोधन हुने अवस्था नदेखिएपछि आन्दोलनरत चिकित्सकहरू असोज ६ गते काठमाडौं पुगेका थिए। काठमाडौंमा उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा. मोहनराज शर्मा तथा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाललाई भेटेर आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

भेटका क्रममा सम्बन्धित पक्षबाट एक–दुई दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन पाएको चिकित्सकहरूले बताएका छन्।

यसअघि नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले असोज ६ गते संयुक्त विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकका माग सम्बोधन गर्न आग्रह गरेका थिए। माग पूरा नभए चिकित्सकहरू थप कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij