काठमाडौं । युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले सरकारले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत ‘Mastering AI with Effective Prompt Engineering’ विषयक तालिम सञ्चालन गर्न लागिएको हो।
तालिममा सहभागी हुन इच्छुक युवाका लागि आवेदन खुला गरिएको छ। आगामी कात्तिक १८ र १९ गते बिहान १० बजेदेखि १२ बजेसम्म तथा बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्र सञ्चालन हुनेछन्। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ।
प्रत्येक सत्रमा ५०० जनाका दरले कुल दुई हजार जनालाई तालिममा सहभागी गराउने लक्ष्य राखिएको छ।
तालिममा च्याटजीपीटी, क्लडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट तथा उपयोगी प्रम्प्ट लेखन, एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय र आकर्षक प्रस्तुतीकरण तयार गर्ने तरिकाबारे सिकाइनेछ। त्यस्तै, एआईको प्रयोगबाट तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने विधिसमेत सिकाइने प्रतिष्ठानले जनाएको छ।
तालिमले युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्याससमेत हो।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान र सीप सीमित व्यक्तिमा मात्र नभई देशभरका युवाको पहुँचमा पुर्याउनुपर्ने बताएका छन्।
उनले प्रविधिको विकाससँगै सिर्जना हुने अवसर सबै युवासम्म पुर्याउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको उल्लेख गर्दै आगामी दिनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिम सञ्चालन गर्ने योजना रहेको बताएका छन्।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिएका सहभागीलाई कुन सत्रमा सहभागी गराइने भन्ने जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेे छ ।