धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा आएको बाढीका कारण मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ।
आइतबार बिहान आएको बाढीका कारण सडक भासिएपछि उक्त सडकखण्डमा दुईतर्फी यातायात पूर्ण रूपमा रोकिएको हो।
सडक अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ जाने तथा आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडकमा सवारीको चाप बढेकाले यात्रुहरूलाई समेत समस्या भएको छ।
चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्म मुग्लिङ–काठमाडौं सडकखण्डमा सवारीसाधन नचलाउन अनुरोध गरेको छ।
बाढीका कारण भासिएको सडक मर्मत तथा यातायात सञ्चालनमा ल्याउने सम्बन्धमा सम्बन्धित निकायले आवश्यक काम अघि बढाउने जनाएको छ।