२०८३ साउन ११ सोमबार

श्रमिकका उजुरी १ घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन

ई आर्थिक    बुधबार, साउन ६ २०८३
418
Shares
श्रमिकका उजुरी १ घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा सेवाग्राहीबाट प्राप्त हुने उजुरी वा निवेदनलाई कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको छ।

विभागले मातहतका सबै श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै उजुरी व्यवस्थापनलाई प्रभावकारी, छिटोछरितो र सेवामुखी बनाउन यस्तो निर्देशन दिएको हो।

विभागका अनुसार विगतमा ‘हेल्लो सरकार’, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभाग वा कार्यालयमा सिधै दर्ता भएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीबाट सेवाग्राहीप्रति उचित व्यवहार नभएको तथा न्याय प्रदान गर्न ढिलाइ भएको गुनासो मन्त्रीसमक्ष समेत पुगेपछि नयाँ व्यवस्था लागू गरिएको हो।

निर्देशनअनुसार श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित सेवाग्राहीलाई दिनुपर्नेछ। साथै, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरणको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

कुनै विषय सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र नपरेमा त्यसबारे सेवाग्राहीलाई तत्काल जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै, श्रमिकका उजुरीमा प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिनुपर्ने, श्रम कानुनअनुसार वार्ता गराउनुपर्ने र वार्ताबाट समाधान हुन नसकेमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

विभागले श्रम अदालत तथा श्रम कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्न र ‘हेल्लो सरकार’मार्फत प्राप्त गुनासो समाधान भएपछि त्यसको जानकारी तत्काल सम्बन्धित निकायमा पठाउन पनि मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij