सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान र घटनास्थलका प्रमाणको विश्लेषणपछि बाह्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको दाबी
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरका अनुसार घटनास्थलको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य भौतिक र प्राविधिक प्रमाणहरूको विश्लेषणपछि श्रेष्ठले आफैंले कारभित्र आगो लगाएको देखिएको हो। प्रहरीले हालसम्मको अनुसन्धानमा बाह्य व्यक्तिको संलग्नताको संकेत नदेखिएको जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११:२० बजे श्रेष्ठले बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुर्याएका थिए। उनले सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्क गरेपछि केही समयमै कारभित्रबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरूले देखेका थिए।
घटनास्थल नजिक रहेका एक युवकले कारमा आगो लागेको देखेपछि तत्काल उद्धारको प्रयास गरेका थिए। प्रहरीका अनुसार सिसिटिभी फुटेजमा ती युवक कारतर्फ दौडिएर अगाडिको ढोका खोल्ने प्रयास गरेको देखिन्छ। चालक सिटतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछि हट्न बाध्य भएका थिए।
प्रहरीले घटनास्थलबाट संकलन गरिएका प्रमाण, सिसिटिभी फुटेज तथा अन्य प्राविधिक अनुसन्धानका आधारमा हालसम्म श्रेष्ठले आफैंले आत्मदाह गरेको निष्कर्षमा पुगेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।