लण्डन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न प्रकारका वस्तुहरूमा ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने निर्णय गरेका छन् । अमेरिकी गाडी, दुग्धजन्य उत्पादन र मदिराप्रति क्यानडाले असमान र भेदभावपूर्ण व्यवहार गरेकाले जवाफमा यो कडा कदम चालिएको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसका अनुसार नयाँ भन्सार महसुल आगामी ३० दिनभित्र लागू हुनेछ । यसले दुई उत्तर अमेरिकी छिमेकीहरूबीचको व्यापारिक तनावलाई थप उत्कर्षमा पुर्याएको छ।
क्यानडाबाट आउने मदिरा, हक्की स्टिक, दैनिक उपभोग्य वस्तुदेखि सिमेन्टजस्ता औद्योगिक सामग्रीहरू यस निर्णयले प्रत्यक्ष प्रभावित हुनेछन्।
यद्यपि इन्धन, पोटास, महत्वपूर्ण खनिज पदार्थ र माछा जस्ता मुख्य क्यानडाली निर्यातलाई भने यो अतिरिक्त शुल्कबाट छुट दिइएको छ।
नयाँ महसुल अमेरिका, क्यानडा र मेक्सिकोबीचको विद्यमान स्वतन्त्र व्यापार सम्झौतामा समावेश भए/नभएका सबै सूचीकृत वस्तुहरूमा लागू हुने बताइएको छ।
अमेरिकी कदमप्रति क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कडा आपत्ति जनाएका छन्। उनले अमेरिकी प्रशासनको यो एकपक्षीय निर्णय विद्यमान सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन्।
यसका बाबजुद क्यानडा आफ्नो आर्थिक हितको रक्षा गर्दै आगामी साताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अघि बढाउन तयार रहेको प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन्।
दुई देशबीच व्यापारिक द्वन्द्व पहिलेदेखि नै जारी थियो। अमेरिकाले यसअघि नै क्यानडाबाट आउने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार महसुल लगाउँदै आएको छ ।